व्याजदर, कच्चा पदार्थ, डलरले स्टीलको मूल्य बढायो-कुन्दन जोशी

२०७४ चैत ६ गते १०:२७ विकासन्युज

कुन्दन जोशी, महाप्रबन्धक-लक्ष्मी स्टील प्राईभेट लिमिटेड

भूकम्पपछिको पूनर्निर्माण र पूर्वाधार निर्माणका कारण स्टील डण्डीको माग निकै बढेको छ । यहि बेलामा डण्डीको मूल्य प्रतिकेजी १० देखि १६ रुपैयाँले बढेको छ । यसरी उच्च दरको मूल्यवृद्धि किन भएको छ ? मूल्य घटाउने कम्पनीहरुले के प्रयास गरेको छन् ? प्रस्तुत छ यसै विषयमा विकासन्युजका लागि लक्ष्मी स्टीलका महाप्रबन्धक कुन्दन जोशीसँग गरिएकाे विकास वहस ।


पछिल्लो समय डण्डीको मूल्य किन बढेको हो ?

आजभन्दा ३ महिना अघि भ्याटसहित डण्डीको प्रतिकिलो मूल्य ७३ रुपैंयाँ थियो, हाल ८४ रुपैंयाँ पुगेको छ । मूल्य बढ्नुको कारण भनेको कच्चा पदार्थको मूल्य बढ्नु र बैंकको ब्याजदर बढ्नु नै हो । यी दुबै कुराको मूल्यलाई समायोजन गरेको भए एक किलो डण्डीको मूल्य ९५ रुपैंयाँ हाराहारीमा पुग्ने थियो । हामीले त ८४ रुपैंयाँमा (भ्याटसहित) बेचिरहेका छौं । स्टीलका समानमा बढ्नुपर्ने जति मूल्य वृद्धि भएकै छैन् ।

भूकम्पपछिको पुनर्निर्माणमा माग बढेको स्टीलको मूल्य बढ्यो भन्ने आरोप पनि छ नि ?

मूल्य वृद्धिको कारण भनेको कच्चा पदार्थ, बैंकको ब्याजदर र भन्सारकै कारण हो । यो आरोप सरासर मिथ्या हो । सरकारले बजार अनुगमन पनि गरिरहेको छ ।

मूल्य निर्धारणमा कम्पनीहरुको प्रतिष्पर्धा कस्तो छ ?

कच्चा पदार्थको मुहान एउटै हो । कच्चा पदार्थ ल्याएर समान बनाउँदा लागत कति घटाउन सकिन्छ त्यसकै आधारमा मूल्यमा कम्पनीहरुबीच प्रतिष्पर्धा हुने हो ।

उत्पादन लागत कम गर्न उद्योगहरुले के के गरिरहेका छन् ?

स्टील मिलका हकमा लागत कम गर्ने प्रमुख आधार अटोमेसन नै हो । सेमी वा फुल अटोमेसन हुन्छ । मिलबाट निस्केको समानलाई बण्डल गर्दा मजदुर लगाउने कि अटोमेसन गर्ने ? त्यसले पनि लागतमा भूमिका खेल्छ ।

भविष्यमा स्टीलको मूल्य कस्तो रहला ?

स्टीलको मूल्य भनेको कच्चा पदार्थमा निर्भर हुने कुरा हो । हामी कच्चा पदार्थमा भारतमाथी निर्भर छौं । भारतमा कच्चा पदार्थको मूल्य कति हुन्छ ? भन्सार दर कति हुन्छ ? बैंकको ब्याज दर कति हुन्छ भन्ने कुराले स्टीलको मूल्य निर्धारण हुन्छ । डलरको मूल्यमा हुने उतारचढावले पनि ठूलो प्रभाव पारिरहेको हुन्छ मूल्यमा । कच्चा पदार्थमा सरदर ४.७५ प्रतिशत भन्सार दर छ । भन्सार दरमा हुने परिवर्तनले पनि मूल्यमा असर गर्छ ।

स्टीलको मूल्य जुन स्तरमा वृद्धि हुनुपर्ने हो त्यो स्तरमा भएकै छैन । बजारले थग्ने मूल्यलाई पनि हामीले हेर्ने गरेका छौं । अलि बढि मूल्य वृद्धि भयो भने सरकारले अनुगमन गरिरहेको हुन्छ ।

आगामी दिन स्टीलको माग तथा खपत कस्तो रहला ?

सरकारी बजेट निकासा समयमा नै भयो, उर्जा क्षेत्रको विकास भयो, पूर्वाधार क्षेत्रको विकास हुँदै गयो भने माग त बढ्छ नै । त्यसैले पनि नयाँ मिलहरु थपिने चरणमा छन् । १६ वटा मिल छन् अहिले । ती कम्पनीहरुको बजार केहि वर्ष पहिलो ९ लाख टन थियो भने यसपाली १३ लाख टन पुग्नेछ ।

उपभोक्ताले स्टील छनौटका आधार के बनाउँदा रहेछन् ?

उपभोक्ताहरुले मूल्य, गुणस्तर र पहुँचलाई हेरेर उत्पादन छान्ने गरेका छन् । हामीले उत्पादन छनौटका ४ वटा आधार (फोर पीज) भन्ने गरेका छौं । ठाउँ (प्लेस) उत्पादन (प्रडक्ट) र मूल्य (प्राइस) लाई हेर्छन् । सिन्धुपाल्चोकमा घर बनाउने उपभोक्ताले डण्डीका किन्न लागि काठमाडौं धाउँदैन् । त्यहाँ जुन कम्पनीको समान छ, त्यहि प्रयोग गर्छन् । अर्काे कुरा मूल्य पनि हो । शहरी क्षेत्रमा मूल्य हेर्छन् । कतिपय अवस्थाम घर बनाउने इञ्जिनियरहरुलाई सोधेर डण्डी खरिद गर्छन् ।

एक तलाको घर सरकारी मापदण्डमा बनाउँदा ५ टन डण्डी लाग्छ । अहिलकै मूल्यमा भन्ने हो भने ४ लाख २५ हजार लाग्छ । कसैले डण्डीको मूल्य किलोको ९० पनि बनाएका हुन सक्छन् । त्यस्तो अवस्थामा २५ हजार बढि तिर्न छाडेर अर्कै कम्पनी रोज्न सक्छन् ।

लक्ष्मी स्टीलको बजार कस्तो छ ?

हाम्रो बजार विस्तार धेरै अघि बढिसकेको छ । अहिले हामी वार्षिक एक लाख २० हजार टन उत्पादन गरेर बजारमा पठाईरहेका छौं । हामी उत्पादन लागत घटाउने अभियानमा छौं । सस्तोमा धेरै उत्पादन गरेर बजारमा पठाउने योजना छ । हाम्रा साना उपभोक्ताहरु धेरै छन् । गाउँ गाउँसम्म आफ्ना उत्पादन पुर्याउने अभियान चलाएका छौं ।

ठूला परियोजना भन्दा पनि आवासमा केन्द्रित हो ?

हामी आवासमा अलि बढि नै केन्द्रित छौं । तर ठूला परियोजनाहरुमा पनि नपठाउने चाँही होइनौं । हामीलाई विश्वास गर्ने ठूला भवन, पूर्वाधारका आयोजनाहरुले पनि उत्पादनहरु लगिरहेका छन् । मेचीदेखि महाकालीसम्मै हाम्रो बजार छ । भैरहवामा हाम्रो प्लान्ट छ, करिब मध्य नेपालमामा प्लान्ट भएकाले बजारीकरण गर्न सहज भएको हो ।

कुन स्टील र कस्तो स्टील उपयोग गर्ने ? उपभोक्ताले कसरी थाहा पाउने गुणस्तरीय स्टील ?

अहिले १६ वटा कम्पनीहरुले उत्पादन गरिरहेका छन् । भरोसा र गुणस्तरको कुरा नै उपभोगका आधार हुन् । गुणस्तर विभागले तीन तीन महिनामा गुणस्तर जाँच गरिरहेको हुन्छ । बजारबाट सामान उठाएर पनि परिक्षण गरिरहेको हुन्छ । गुणस्तर कायम गर्न सकिएन भने बेच्नै पाइँदैन् । सरकारी प्रोजेक्टहरुमा गुणस्तर प्रमाण नपाएका समान खरिद नै हुन्न । हामीले सरकारी गुणस्तरका सबै मापदण्ड पुरा गरेर उत्पादन र बजारीकरण गर्दै आएका छौं ।

स्टील उद्योममा भएको लगानी कत्तिको जोखिममा हुन्छन् ?

कुनै पनि लगानी जोखिममुक्त पक्कै पनि हुदैन । विकास पूर्वाधार, ठूला भवन, सरकारी परियोजनाहरुको काम अघि बढेन भने उद्योगहरु जोखिममा पर्छन नै ।

स्टील उद्योगको क्षेत्रमा प्रयोग हुने प्रबिधिमा कस्तो परिवर्तन आईरहेको छ ?

यो क्षेत्रमा पहिलो टोर भन्थे अहिले टिएमटी भन्ने आएको छ । पहिलो ४१५ ग्रेडमा बन्थ्यो अहिले ५०० ग्रेडमा बन्छ । ग्रेड भनेको स्ट्रेन्थ हो । पहिले १० वटा डण्डी हाल्नु पर्ने थियो अहिले ७ वटा हाल्दा हुन्छ ।