‘हिमालयन हाइड्रो एक्स्पो’ पुस २१ गतेदेखि शुरु, विभिन्न ८ देशको सहभागिता रहने

  २०७४ मंसिर २७ गते १६:१४     विकासन्युज

काठमाडौं । ‘हिमालयन हाइड्रो एक्स्पो-२०१८’ आगामी पुस २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको सँस्था नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको उक्त एक्स्पोको तयारी ७५ प्रतिशत सकिएको आयोजकले जनाएको छ ।

आगामी पुस २३ गते सम्म चल्ने यो मेलालाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल सरकारको ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्षलाई यो मेलाले सहयोग गर्ने आयोजकको विश्वास रहेको छ ।

एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य विषयमा तीनवटा सेमिनारको आयोजना गरिने छ । साथै, युवा पुस्तालाई लक्षित हाइड्रो पावर क्षेत्रमा अभिरुची भएकाहरुलाई आकर्षित एवम् प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए ।

हाइड्रो पावर सम्बन्धी उत्पादन र सर्भिसको बिकाससम्बन्धी प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी प्रथम हुनेलाई ५० हजार रुपैयाँभन्दा बढी तथा द्धितीय र तृतीयलगायत अन्य सान्त्वना पुरस्कार प्रदान गरिने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका हाइड्रो पावरका कम्पीका प्रतिनिधिहरु एक्स्पोमा सहभागी हुँदै छन् । विशेष गरी भोईथ, क्रिस्टल, फ्लोभेल, भ्यापटेक, म्याभल, बीएफएल जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि यो एक्स्पोमा सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरुको सहभागिता रहने स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंको विस्वास रहेको छ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक लगायतका देशका कम्पनीहरुको सहभागिता रहने इपानका अध्यक्ष गुरागाईले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.