बीमा समूहको परिसूचक ५६७ अंकले बढ्यो, पुँजी वृद्धिबारे गलत हल्ला

  २०७३ चैत ७ गते २१:०७     विकासन्युज

काठमाडौं । सोमबार सेयर बजार ४२ अंकले बढ्यो । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५६७ अंकले बढ्यो । प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, यूनाईटेड इन्स्योरेन्सको सेयर सोमबार १० प्रतिशतले वृद्धि भई कारोबार बन्द भयो भने सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर क्रमशः ९.९८ र ९.९७ अंकले बढ्यो ।

सोमबार निर्जीवन सबै बीमा कम्पनीको सेयर ८ देखि १० प्रतिशतले वृद्धि भयो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता १८४ रुपैयाँले बढ्यो भने अन्य जीवन बीमा कम्पनीहरुको सेयर मूल्य पनि उच्चदरमा बृद्धि भयो । सोमबार जस्तै, आईतबार पनि सबै बीमा कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको थियो ।

बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्दैछ भन्ने सन्देश बजारमा भइरल झै फैलिएको छ ।

तर सरकारी अधिकारीहरुले पुँजी वृद्धि सम्बन्धमा चलेको हल्लामा सत्यता नभएको बताएका छन् । पुँजी वृद्धि गर्ने विषयमा पछिल्लो समयमा छलफल समेत नभएको अर्थसचिव शान्तराज सुवेदीले बताए ।

‘पुँजी वृद्धि सम्बन्धि निर्णय बीमा समितिले गर्छ । तर समितिले निर्णय गर्नुपूर्व अर्थमन्त्रालयसँग पनि छलफल हुन्छ’ सचिव सुवेदीले विकासन्युजसँग भने–‘पछिल्लो समयमा पुँजी वृद्धिबारे औपचारिक, अनौपचारिक कुनै पनि तहमा छलफल भएको छैन ।’

‘पछिल्लो समयमा पुँजी वृद्धिबारे औपचारिक, अनौपचारिक कुनै पनि तहमा छलफल भएको छैन ।’ अर्थसचिव शान्तराज सुवेदी

 

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बजारमा चलेको हल्लाको बारेमा आफूले टिप्पणी नगर्ने बताए । ‘पुँजी वृद्धिबारे तपाईसँग मैले जे भनेको थिएँ, विकासन्युजमा प्रकाशित मेरो अन्तर्वार्तामा छापिएको छ, त्यसमा सबै कुरा स्पष्ट बोलेको छु, अहिले मैले भन्नु पर्ने नयाँ कुरा केही पनि छैन’ अध्यक्ष चापागाईले भने । यस लिङ्कमा अध्यक्ष चापागार्इसँगकाे अन्तर्वार्ता पढ्न सकिने छ ।

पछिल्लो समय बीमा कम्पनीहरुको बारेमा सकारात्मक समाचार प्रकाशित भएकोले सेयर बजारमा सकारात्मक असर परेको हुन सक्ने समितिका सल्हाकार भोजराज शर्माले बताए । ‘कम्पनीको नाफा बढेको, बोनस सेयर आउने, हकप्रद सेयर निश्काशन गर्ने, एफपीओ आउने खालका समाचार आएका छन्, त्यसको असार सेयर बजारमा परेको हुनसक्छ’ शर्माले भने ।

बीमा ऐन कानुन मन्त्रालयमा

अर्थ सचिव सुवेदीका अनुसार प्रस्तावित बीमा ऐनको मस्यौदा भने अर्थमन्त्रालय तयार गरी रायको लागि कानुन मन्त्रालयमा पठाएको बताए । कानुन मन्त्रालयबाट स्वीकृत भई आएपछि मन्त्रिपरिषद्मा पेश हुनेछ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि विधेयक संसदमा पेश हुनेछ ।

‘बीमा ऐन अन्तराष्ट्रिय स्तरको बन्दैछ । यसले बीमा क्षेत्रलाई धेरै व्यवस्थित र पारदर्शी बनाउनेछ’ अर्थसचिव सुवेदीले भने ‘बीमा समितिलाई स्वायत्त नियामक निकायको रुपमा अधिकार दिईएको छ । पुँजी वृद्धि, नियमन, अनुगमन लगायत धेरै कार्य गर्न समितिलाई स्वायत्तता दिईएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.