‘लकइन पिरियड’ सकिएपछि किन घट्छ सेयर मूल्य ?

  २०८१ वैशाख १८ गते १३:१९     विकासन्युज

काठमाडौं । अबको एक महिनामा तीन वटा कम्पनीको सेयर लक इन अवधि समाप्त हुँदैछ । सीईडीबी हाइड्रोपावर कम्पनी, मकर जितुमाया सुरी हाईड्रोपावर र मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि समाप्त हुँदैछ ।

वैशाख ३० मा सीईडीबी हाइड्रोपावर कम्पनीको संस्थापक तथा कर्मचारीलाई छुट्याइएको सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थापकको ५८ लाख ७५ हजार ८७० कित्ता र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो ।

त्यस्तै, मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको २६ लाख कित्ता बढी सेयरको लक इन अवधि पनि समाप्त हुँदैछ । कम्पनीको सञ्चालक डोल्मा इम्प्याक्ट फण्ड आईको नाममा रहेको कम्पनीको २६ लाख ५ हजार ९ सय कित्ता सेयरको लक इन अवधि आगामी जेठ १६ गतेबाट समाप्त हुने भएको हो ।

कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने डोल्मा इम्प्याक्ट फण्ड आईको राजीनामा २०८० जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुनेगरी स्वीकृत गरेको थियो ।

उक्त मितिदेखि डोल्मा इम्प्याक्ट फण्ड आईको स्वामित्वमा रहेको कम्पनीको प्रतिसेयर मूल्य १०० अंकित दरका २६ लाख ५ हजार ९ सय कित्ता सेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी एक वर्षका लागि रोक्का गरिएको थियो । उक्त रोक्का रहेको सेयरको लक इन अवधि आगामी जेठ १६ गते समाप्त हुन लागेको हो ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि आगामी जेठ १८ गते समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लक इन अवधि जेठ १८ गते सकिन लागेको कम्पनीले जनाएको हो ।

कम्पनीले आम सर्वसाधारण्का लागि निष्कासन गरेको आईपीओ गत मंसिर १९ गते बाँडफाँड गरेको थियो । आगामी जेठ १८ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ । साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर रोक्का हुने प्रावधान रहेको छ ।

३ कम्पनीको ८५ लाख ९६ हजार ७ सय ४४ कित्ता सेयर सर्वसाधारणको पनि खरिदबिक्रि गर्न पाउने छन् । वैशाखमा मात्रै चार वटा कम्पनीको लक इन अवधि समाप्त हुने भएको हो । बैशाखमा माथिल्लो मैलुङखोला, रुरु जलविद्युत्, चिरख्वा हाइड्रोपावर र सीईडीबी हाइड्रोपावरको लक इन समाप्त हुँदैछ ।

जसमध्ये वैशाख २ देखि माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त भइसकेको छ । त्यस्तै, वैशाख ३ देखि रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिएको छ । जसमा संस्थापकको ३९ लाख ४५ हजार ८८८ कित्ता, प्रभावित स्थानीयबासीको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८४५ कित्ता सेयरमा वैशाख ३ गते लकइन अवधि सकिएको हो ।

चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त भएको छ ।

माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त भएको दिन वैशाख २ गते ४६२ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो । वैशाख ३ गते घटेर ४५४ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, ४ गते ४५० रुपैयाँ, ६ गते ४४५ रुपैयाँ, ९ गते ४५३ रुपैयाँ र १० गते ४४२ रुपैयाँमा कारोबार भएको देखिन्छ। यसरी हेर्ने हो भने लक इन अवधि सकिएर बजार खुलेसँगै मुल्य घटेको देखिन्छ । सो समय अवधि अघि चैत २८ गते ४६० रुपैयाँमा खरिदबिक्रि भएको देखिन्छ ।

रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिएको दिन वैशाख ३ गते ६२३ रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन वैशाख २ गते ६२५ रुपैयाँमा कारोबार भएको थियो भने चैत २८ गते ६३५ रुपैयाँमा कारोबार भएको थियो । लक इन अवधि समाप्त भएपछि वैशाख ४ गते मूल्य घटेर ५६० रुपैयाँमा कारोबार भयो । त्यस्तै वैशाख ६ गते ५०४ रुपैयाँ, वैशाख ९ गते ५४६ रुपैयाँ र १० गते ५३० रुपैयाँमा कारोबार भएको छ ।

चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त भएर बजार खुलेको दिन वैशाख १६ गते ५१५ रुपैयाँमा कारोबार भएको छ । त्यसअघि १३ गते ५३० रुपैयाँ, १२ गते ५२३ रुपैयाँ र १० गते ५२२ रुपैयाँमा कारोबार भएको थियो ।

यसरी हेर्ने हो भने लकइन अवधि समाप्त भएर सेयर कारोबारमा आएपनि त्यसले मूल्य निर्धारणमा खासै ठूलो प्रभाव पारेको देखिँदैन । तत्काल लकइन अवधि समाप्त भएर बजारमा भएका कम्पनीहरुलाई नियाल्ने हो भने क्रमशः मूल्य घट्दै गएका छन् ।

लकइन अवधि समाप्त भएपछि बजारमा आएको सेयरमा लगानीकर्ताको कम चासोमा पर्ने भएकोले मूल्य पनि घट्ने गरेको लगानीकर्ता माधव खनाल बताउँछन् ।

उनी भन्छन्, ‘सय रुपैयाँमा पाइरहेको सेयर बढिमा किन्नु पर्यो भने त्यो सर्वसाधारणको लागि त महङ्गो पर्नेभयो नी, मानौं न यदि सय रुपैयाँमा पाइरहेको सेयर ३ सय रुपैयाँमा किन्नुपर्यो भने सर्वसाधारणको लागि त २ सय रुपैयाँ महङ्गो पर्यो नि त्यसैले पनि सर्वसाधारणको त्यसप्रतिको रुचि कम भएको हो ।’

उनका अनुसार लकइन अवधि समाप्त भएपछि बजार मूल्य घट्नु स्वाभाविक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.