आवास र भोजन सेवाको वृद्धि २२ प्रतिशत, आर्थिक वृद्धि ३.८७ प्रतिशतले हुने

  २०८१ वैशाख १८ गते १६:४४     विकासन्युज

काठमाडौं । यस वर्ष नेपालकाे आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएकाे छ । यससँगै कुल ग्राहस्थ उत्पादन ५७ खर्ब ४ अर्ब ८० करोड रुपेयाँको हुने कार्यालयको अनुमान छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार लेखा तथ्यांकसम्बन्धी विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/०८१ मा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको हाे ।

याे वर्ष गत वर्षकाे तुलनामा बढ्ने अनुमान गरिएकाे हाे । गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशत थियो ।

यस्तै चालु आर्थिक वर्षमा आधारभुत मूल्यवृद्धिदर ३.५४ प्रतिशत हुने अनुमान गरिएको छ । कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान कार्यालयले सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धि वृद्धिदर प्राथमिक क्षेत्रको ३ प्रतिशत, द्वितीय क्षेत्रको १.२ प्रतिशत र सेवा क्षेत्रको ४.५ प्रतिशत रहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ। संशोधित विवरण अनुसार गत आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर २.७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर २.१३ प्रतिशत रहने अनुमान गरिएको छ। त्यसैगरी, अन्तिम विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ मा कृषि क्षेत्रको वृद्धिदर २.३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ६.५४ प्रतिशत कायम हुने तथ्याङ्क सार्वजनिक गरिएको छ।

चालु आर्थिक वर्षमा नेपालीकाे प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर हुने अनुमान छ । तथ्यांक विभागका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले तीन आर्थिक वर्षको आधारमा यो तथ्यांक तयार पारिएको बताए ।

विभिन्न क्षेत्रको मूल्यांकन तथा मापन गरेर आर्थिक वृद्धिको अनुमान हुँदै आएको छ । १८ वटा आर्थिक क्षेत्रका क्रियाकलापको विश्लेषण गरेर अनुमान निकालिएको उनले बताए ।

उद्योग क्षेत्र ऋणात्मक

चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक (-१.६०%) हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकोले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो। साथै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकुल कारणले विश्वव्यापी रूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो।

‘यो ६ देखि ९ महिनाको वास्तविक तथ्यांक र अन्य महिनाको राष्ट्रिय लेखा अनुमानको विधिबमोजिम निकालिएको छ,’ उनले भने, ‘विगतको तुलनामा अर्थतन्त्र सुधार हुँदै गएको छ, अधिकांश सूचक सकारात्मक हुँदै गएका छन् ।’

निर्माण पनि ऋणात्मक

यस क्षेत्रको चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक (-२.०७%) हुने प्रारम्भिक अनुमान गरिएको छ। निर्माण सामाग्रीको आयातमा आएको कमी, निर्माण सामाग्रीको स्वदेशी उत्पादनमा भएको कमी जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा संकुचन हुने अनुमान गरिएको हो।

यातायात तथा भण्डारणमा सुधार

चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ११.८९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा सवारी साधनको आयातमा भएको वृद्धि, पर्यटकको आवागमनमा भएको वृद्धि जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि सुधार हुने अनुमान गरिएको हो।

आवास तथा भोजन सेवामा २२ प्रतिशत वृद्धि

चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २१.८४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धि जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार हुने अनुमान गरिएको हो।

वित्तीय तथा बीमा क्षेत्रमा चालु आर्थिक वर्षमा  कुल मूल्य अभिवृद्धि वृद्धिदर ७.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तिय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको बृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको हो।

त्यस्तै, चालु आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कम्प्यूटर प्रोगामिङ तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोवार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य बढ्ने प्रारम्भिक अनुमान रहेको छ ।

चालु आर्थिक वर्षमा घरजग्गा कारोवारको सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । घर जग्गाको कारोबारमा तुलनात्मक रूपमा कमी आएको भए तापनी निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो  वर्षको  तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो ।

त्यस्तै चालु आर्थिक वर्षमा पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.१५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । पछिल्लो समयमा विभिन्न प्राविधिक कार्यका लागि पेशागत संस्थासँग सेवा लिने प्रवृत्तिमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो  वर्षको  तुलनामा सामान्य बढ्ने प्रारम्भिक अनुमान गरिएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा जीडीपीको २४.४५ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यस्तै जीडीपीको ९२.३८ प्रतिशत अन्तिम उपभोग खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.