६ महिनामा आउँदै छ साझाको सेमी लो फ्लोर बस, १० वटा डिलक्स बस पनि थपिने

  २०७३ फागुन १ गते १६:२८     विकासन्युज

काठमाडौं । साझा यातायातले नेपालमा पहिलोपटक सजिलो गरि चढ्न मिल्ने अत्याधुनिक सुविधासम्पन्न सेमी लो फ्लोर मोडलको बस ल्याउने भएको छ । ११ वटा बसको मूल्य पाँच करोड रुपैयाँ पर्ने साझाको अनुमान छ । समथर सडकमा मात्र चल्ने जान मोडलको बसका लागि साझाले आइतबार टेण्डर आह्वान गरेको छ ।

६ महिनामा साझाले १० वटा डिलक्स बस सहित एउटा सेमी लो फ्लोर बस ल्याउन लागेको साझाका प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेले जानकारी दिए ।  ‘साझाले सेमी लो फ्लोर र डिलक्स बसका लागि टेण्डर आह्वाहन गरिसकेको छ’ , उनले भने, ‘ करिब ६ महिनामा साझाका बस काठमाडौं आइसक्छन् भन्ने आश गरिएको छ ।’

‘हामीले परीक्षणका लागि नमुनाका लागि एउटा लो फ्लोर बस ल्याउने कुरा गरेका थियौं, ‘ उनले भने, ‘समथर भागमा मात्र चलाउन मिल्ने भएकाले त्यसको सम्भाव्यता हेरेर मात्र खरीद गर्ने कुरा भएको थियो ।’

३० वटा बस ल्याउने सम्झौता हुँदा नै अशोक ले ल्याण्डसँग लो फ्लोर बस ल्याउने बारे छलफल भएको पाण्डेयले बताए । तर लो फ्लोर गाडी नेपालमा ल्याउदा महंगो पर्ने भएकाले समय लागेको उनले बताए ।

सहर क्षेत्रमा सेमी लो फ्लोर बसको आवश्यकता पर्ने भएकाले परिक्षणका लागि स्याम्पलको रुपमा ल्याउन खोजिएको साझाका अध्यक्ष कनकमणी दिक्षितले जानकारी दिए । उनले भने, ‘ सिटी ट्रान्सपोर्टको अवधारणा अनुसार सेमी लो फ्लोर बस चाहिन्छ नै । गाडीको मुल्य झन्डै एक करोड पुग्ने देखिएको छ । यसका लागि सरकार, स्थानिय सरोकारबालाको विषेश ध्यानाकर्षण हुनु जरुरी छ ।’

के हो सेमी लो फ्लोर बस ?

नयाँ सिटी बस मोडल अन्तर्गतको सेमी लो फ्लोर बसको ६५० मिलि मिटर ग्राउन्ड क्लियरेन्स छ। यही कारण यात्रुले सहजै बसमा चढ्न सक्ने अशोक लेल्याण्डका कर्पोरेट म्यानेजर प्रविन अधिकारीले जानकारी दिए ।

प्राविधिक भाषा अनुसार बसको खुड्किलोको पहिलो तल्लालाई ‘ई’ भनिन्छ । यो जमिन सतह भन्दा चार सय एमएमको उचाईंमा हुन्छ । हाल नेपालमा चल्ने सामान्य बसका धरातल जमिनको सतहभन्दा दुई वटा खुड्किलो सहित नौ सय एमएमको दुरीमा हुन्छ भने डिलक्स बसमा तीन वटा खुड्किलो तथा धरातलसम्म एक हजार एक सय ५० एमएमको दुरी हुन्छ ।

लो फ्लोर बसमा यो दुरी जम्मा ६ सय ५० एमएम हुन्छ । त्यसैले छोटो समयमा नै यात्रु प्रवेश गर्न वा निक्लन मिल्ने अधिकारीले बताए  ।  उनका अनुसार यसको ढोका पनि फराकिलो हुन्छ । १२ मिटर लामो यस बसमा धेरै यात्रुहरु अटाउन मिल्ने अधिकारीले जानकारी दिए । ह्विल चियर प्रवेश गर्न मिल्ने यो बस अपाङ्गमैत्री छ । अरु सामान्य बसमा पछाडी इञ्जिन हुने गर्छ भने यो बसमा अगाडी इञ्जिन हुने भएकाले इन्धन खपतलाई घटाउन सकिने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.