जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध एक महिनाभित्र फुकुवा हुने 

  २०७५ असार ३० गते १५:५८     विकासन्युज

बुटवल । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने बताएका छन् । तिलोत्तमा नगरपालिपाकाको मणिग्राममा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरण समारोहमा उनले भने, “कृषि भूमिको संरक्षण हुनेगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी सरकारको छ ।”

मन्त्री खनालले जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउने बताउँदै भने “यस सम्बन्धमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको छु, एक महिनाभित्र यो विषयलाई हामीले टुंग्याउने छौं । ”

गत साउन २६ मा तत्कालीन भूमिसुधारमन्त्री गोपाल दहितको मन्त्रिस्तरीय निर्णयबाट वर्षमा एक पटक वा अदालतको फैसला र अंशबन्डामा मात्र कित्ताकाट गर्न पाउने व्यवस्था कायम छ ।

मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा रोकिएको छैन्, बरु यसले अनेक विकृति बढाएकोछ, त्यसैले सरकारले नयाँ व्यवस्था गर्न थालेको बताए। स्थानीय तहले भूउपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले रुपन्देहीमा खेतीयोग्य जमीनको संरक्षण गरिनुपर्ने बताए ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कित्ताकाटमा लगाइएको रोकले ल्याएको समस्याप्रति जानकार रहेको उल्लेख गर्दै आफूहरु नीति बाहिर जान नसक्ने बताए ।
रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं १५ र १७ का ११२ जनाले गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेका छन् । मन्त्री खनाल, प्रदेशसभा सदस्य दधिराम न्यौपाने, नगर प्रमुख वासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले उनीहरुलाई जग्गाधनी प्रमाणपूर्जा प्रदान गरेका थिए ।

नापी कार्यालय रुपन्देहीले साविक मधवलिया १ कको किता नं ८९ र ९८ तथा गंगोलिया ३ खको कित्ता नं १३२ को गाउँब्लक जग्गाको जग्गाधनीलाई प्रमाण पूर्जा वितरण गरेको हो । यसअघि नापजाँच हुने क्रममा छुटेका स्थानीय बासिन्दाले झण्डै ५० वर्षपछि आफूले प्रयोग गरेको जग्गाको प्रमाण पूर्जा प्राप्त गरेका हुन् ।

नापी कार्यालयका अनुसार शनिबार झण्डै पाँच बिगाहा क्षेत्रफल जग्गाको प्रमाण पूर्जा वितरण गरिएको छ । नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले क्रमशः तिलोत्तमा नगरपालिकामा रहेका अन्य गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा पनि वितरण गरिने जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.