प्रदेश संरचना मर्मतमा २८ करोड रुपैयाँ लाग्ने

  २०७४ पुष ३ गते १६:२२     विकासन्युज

सुर्खेत । छ नं प्रदेशको प्रस्तावित राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका-संसद्का लागि आवश्यक तयारी शुरु भएको छ । प्रदेश सरकार संरचनाका लागि २८ करोड रुपैयाँ लाग्ने भएको छ । प्रदेश व्यवस्थापिका-संसद्, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेश सरकारका लागि विद्यमान पूर्वाधार मर्मतका लागि २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको हो ।

कार्यदलले तयार पारेको प्रतिवेदनमा अडिटोरियम हलदेखि आवाससम्मको मर्मतका लागि उक्त रकम आवश्यक पर्ने उल्लेख छ । प्रदेशसभा भवन, सभामुख कार्यालय, सभामुख निवास, प्रदेश उपप्रमुखलगायत प्रदेशसभा सचिवालयमा खटिने कर्मचारी र संसदीय दलको कार्यालयका लागि उक्त रकम प्रस्ताव गरिएको र शैक्षिक तालीम केन्द्र भवन मर्मतका लागि रु छ करोड आवश्यक पर्ने उल्लेख छ ।

यस्तै प्रदेश प्रमुख कार्यालय, निवास, प्रदेश सचिव कार्यालय, प्रदेश मन्त्रिपरिषद्, मुख्यमन्त्री, मुख्य सचिव कार्यालय, गृह, अर्थ, कृषि तथा भूमि व्यवस्थापन, पूर्वाधार विकास, विज्ञान तथा वातावरण, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास, मन्त्रीहरुको निवास, विशिष्ट कर्मचारी निवासलगायतमा २२ करोड रुपैयाँ खर्च लाग्ने क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत केशवप्रसाद उपाध्यायले बताए । “भवन मर्मतका साथै नजिकका बिग्रेका सडकको मर्मतका लागि पनि यो बजेट प्रस्ताव गरेका हौँ” उपाध्यायले भने, “केन्द्रबाट अहिलेसम्म बजेटका बारेमा कुनै निर्णय आइपुगेको छैन ।”

क्षेत्रीय प्रशासन कार्यालयले शाखा अधिकृत केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले शैक्षिक तालीम केन्द्रका लागि प्रदेशसभा भवन, सभामुख कार्यालय, सभामुख निवास, प्रदेश उपप्रमुखलगायत प्रदेशसभा सचिवालयमा खटिने कर्मचारी र संसदीय दलको कार्यालयका लागि पनि आवश्यक भवन पनि सो प्रस्तावमा समेटेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.