नेप्से घटेर १२७५ बिन्दुमा, ६१ करोडको कारोबार हुँदा एनआईसीको सबैभन्दा बढी

  २०७६ जेठ २७ गते १५:२७     विकासन्युज

काठमाडौं । सोमबारको नेप्से परिसूचक ८.७८ अंकले घटेर १२७५.८२ अंकमा झरेको छ । कारोबार शुरु भएको करिब आधा घण्टा उकालो लागेको सो दिनको नेप्से त्यसपछिको कारोबारमा निरन्तर ओरालो लागेको हो ।

बजारमा परिसूचकमा गिरावट देखिए पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । सोमबारको बजारमा कुल १७३ कम्पनीको ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबार अर्थात गत बिहीबारको तुलनामा ३ करोड रुपैयाँ बढी हो । गत बिहीबारको बजारमा ५८ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बजारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको सेयर कारोबार भएको छ । बैंकको ४ करोड १८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४५१ रुपैयाँ रहेको छ । त्यस्तै, शिवम् सिमेन्टको ३ करोड ९० लाख र सिद्धार्थ बैंकको ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

सो दिन सबैभन्दा बढी वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य ७.६१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ७.३४ प्रतिशत गुमाएका छन् ।

सोमबार तीन समूह बाहेक बाँकी समूह ओरालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १२४ अंकले घटेको छ । उकालो लाग्नेमा उत्पादनमूलक १५.५५, विकास बैंक ४.४७ र म्युचअल फण्ड ०.०७ अंकले बढेका छन् ।