नबिल बैंकको ३४ प्रतिशत लाभांश घोषणा, चुक्ता पुँजी १० अर्ब नाघ्ने

  २०७६ कार्तिक १७ गते १७:२२     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी नौ अर्ब एक करोड रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँ नाघ्ने छ ।

बैंकको प्रस्तावित लाभांशदर र अघिल्लो वर्षको लाभांशदर बराबर रहेको छ । यसअघि बैंकले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी ३४ प्रतिशतै लाभांश वितरण वितरण गरेको थियो ।