‘धितोपत्र बोर्डको नेतृत्व चयनमा चलखेल नगर्न अर्थमन्त्रालयलाई खबरदारी’

  २०७६ कार्तिक १८ गते १७:५५     विकासन्युज

काठमाडौं । सेयर लगानीकर्ता दवाव समूहले नेपाल धितोपत्र बोर्डको नेतृत्व चयनमा चलखेल नगर्न अर्थमन्त्रालयलाई खबरदारी गरेको छ । उक्त समूहले सोमबार एक विज्ञप्ति जारी गर्दै नेतृत्व चयन हुँदा हुन सक्ने चलखेलमा सचेत रहन अर्थमन्त्रालयलाई आग्रह गरेको हो ।

त्यस्तै, लगानीकर्ताले कात्तिक १ गतेदेखि रिक्त रहेको बोर्डको अध्यक्ष पदमा नयाँ नेतृत्व चयन गर्न ढिलाई नगर्न सरकारसँग माग गरेका छन् । अर्थतन्त्रको ऐनाको रुपमा रहेको पुँजीबजारको नियामक निकायको नेतृत्वविहिन अवस्था धेरै लामो समयसम्म रहन नहुने उनीहरुले बताएका छन् ।

आगामी कार्याकालको लागि बोर्डमा नियुक्ति प्रक्रिया अगाडि बढ्दै गर्दा उक्त पदमा सक्षम र दक्ष नेतृत्व नियुक्त गनुपर्ने लगानीकर्ताको अपेक्षा रहेको छ । लगानीकर्ताले अप्ठयारो परिस्थिमा गुज्रिरहेको बजारलाई सही दिशामा लैजान सक्ने पुँजीबजारसँग सम्बन्धित दक्ष ज्ञान भएका नेतृत्व चाहेका छन् ।

अब आउने नयाँ नेतृत्व आर्थिक रुपमा पारदर्शी, अनुभवी र सुझाव समितिको कार्यान्वयन हुन बाँकी रहेको बुँदाहरु कार्यान्वयन गर्न सक्ने दक्षवान अध्यक्ष चाहिने लगानीकर्ताको माग रहेको छ ।