२०७९ असार २७ गते १२:२३ विकासन्युज
काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश (एनबी) बैंकबीच एकीकृत कारोबार शुरु भएको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो ।
‘क’ वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो ।
यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबैभन्दा ठूलो वितीय संस्था भएको छ ।
बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको बताए ।
बैंकका अनुसार प्राप्ति पछि बैंकको चुक्ता पुंजी २२ अर्ब ८३ करोड, कुल पुंजी ५६ अर्ब २ करोड, कुल निक्षेप ३ खर्ब २८ अर्ब तथा कुल कर्जा ३ खर्ब ८ अर्ब पुगेको छ । त्यस्तैगरि बैंककाे देशभरिको शाखा विस्तार भई २६७ शाखा सञ्जालहरु र २७४ एटिएम मेसिनहरुबाट सेवा प्रदान गर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.