‘कलंकी-बसुन्धरा सडकखण्ड विस्तारमा सडक विभाग र महानगरबीच सहकार्य जारी छ’

  २०८१ जेठ १३ गते २०:४३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) साहबाट सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त भएको धारणा र सोही स्ट्याटसलाई आधार मानी बनाइएका विभिन्न समाचारप्रति सडक विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मेयर बालेनले उठाएको कलंकी–बसुन्धरा सडक खण्डको अवस्थाबारे महानगर र सडक विभागबीच पटक(पटक संवाद, सहयोग र सहकार्य हुँदै आएको विभागको भनाइ छ ।

विभागका अनुसार उक्त खण्डको मेन लेनलाई ८ लेनमा चिनियाँ सरकारको अनुदान सहयोगबाट विस्तार गर्ने गरी सन् २०२४ मार्च २० मा नै चिनियाँ पक्षबाट ‘एक्सचेन्ज अफ नोट’ प्राप्त भइसकेको साथै अर्थ मन्त्रालय र चिनियाँ पक्षबीच ‘एक्सचेन्ज अफ लेटर’ मा हस्ताक्षर गर्ने गरी तयारी भइरहेको छ ।

उक्त खण्ड निर्माणका लागि नेपाल सरकारको स्रोतबाट सडक विभागले ठेक्का व्यवस्थापन गरी निर्माण कार्य अगाडि बढाएको विभागले जनाएको छ ।

उक्त खण्डको बीच भागमा अनधिकृत व्यक्तिहरूबाट फोहोर फाल्ने प्रवृत्तिबारे सडक विभाग र महानगरबीच छलफल भएको साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा समेत पटक–पटक छलफल भएको विभागको भनाइ छ ।

उक्त स्थानमा अनधिकृत रूपमा फोहर फाल्न नदिने तथा फोहर व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी समेत महानगरकै रहेको भए पनि यसमा दुवै पक्षबाट आ–आफ्नो तर्फबाट सकारात्मक सहयोगी भूमिका खेलिरहेको विभागले जनाएको छ ।

यसैबीच महानगर प्रमुखबाट सामाजिक सञ्जालमा उल्लेख गरेझैं काठमाडौं महानगरबाट सडक विभाग र सडक डिभिजन काठमाडौंको मूलद्वारमा फोहर थुपार्ने कार्यलाई फेसबुक पेजमा महत्त्व दिई लेखेको सन्दर्भमा यस्ता अमर्यादित र सार्वजनिक हित प्रतिकूल हुने क्रियाकलाप महानगरबाट हुन्छ भन्नेबारे सडक विभागले विल्कुल अपेक्षा नगरेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.