नबिल इन्भेष्टमेन्ट र भोटेकोशी हेली रिसोर्टबीच सम्झौता, रिसोर्टलाई ‘फोर स्टार’ बनाइने

  २०८१ जेठ १३ गते १२:२०     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र भोटेकोशी हेली रिसोर्ट एण्ड स्पाबीच सम्झौता भएको छ । रिसोर्टको स्तरोन्नतिका साथै विभिन्न रणनीतिक योजनाहरू कार्यान्वयनका लागि रिसोर्टले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको हो ।

कम्पनीका अनुसार कोदारी राजमार्ग अन्तर्गत चीनको सीमाना तातोपानी जाने बाटोको भोटेकोशी नदी छेउमा अवस्थित भोटेकोशी हेली रिसोर्ट एण्ड स्पालाई ‘फोर स्टार’सम्म विस्तार गरिने भएको छ ।

सम्झौता पत्रमा भोटेकोशी हेली रिसोर्ट एण्ड स्पाका अध्यक्ष चिनबहादुर रानाभाट र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौताका आधारमा नबिल इन्भेष्टमेन्टले भोटेकोशी हेली रिसोर्टलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरूबाट सार्वजनिक निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, सम्झौतापछि संस्थागत परामर्श सेवाअन्तर्गत कम्पनीको व्यावसायिक रणनीतिक विस्तार, भविष्यको योजना, प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि, व्यवसायको सुक्ष्म अध्ययन र व्यवसायलाई आवश्यक पूँजीको उपलब्धता जस्ता समन्वयकारी भूमिका निर्वाह गरी कम्पनीलाई ‘फोर स्टार’सम्मको अतिथ्यता सत्कार गर्न सक्ने बनाउन कम्पनीको क्षमता अभिवृद्धिमा सहयोगीको भूमिका पनि नबिल इन्भेष्टमेन्टले खेल्दे बताइएको छ ।

भोटेकोशी हेली रिसोर्ट पारिवारिक बिदा मनाउन, गोष्ठी, सेमिनारहरू गर्न, विवाह र अन्य विशेष कार्यक्रमहरू गर्न उपयुक्त स्थान रहेको कम्पनीले जनाएको छ । उच्चस्तरीय आतिथ्य सत्कार गर्ने रिसोर्टले निकट भविष्यमा नै क्यासिनो लगायतका विभिन्न मनोरञ्जनात्मक सेवा सुविधाहरू थप्दै आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने योजना अघि सारेको छ ।

कम्पनीका अनुसार सुन्दर प्राकृतिक वातावरण रहेको त्यस क्षेत्रमा जानका लागि काठमाडौंबाट २० मिनेटको हेलिकोप्टर उडान वा तीन घण्टाको सडक सवारीबाट पुग्न सकिन्छ भने चीनको खासास्थित मितेरी पुलबाट करिब ४५ मिनटको सडक सवारीबाट पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.