सीईओ पाण्डेलाई ५ प्रश्न : मर्जरपछि कति सिनर्जी आयो ?

  २०८१ जेठ ११ गते १५:०६     विकासन्युज

बीमा तथा बैंकिङ क्षेत्रमा परिचित नाम हो शिवनाथ पाण्डे । सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा कार्यरत पाण्डेसँग बैंक तथा बीमा क्षेत्रमा तीन दशकभन्दा बढी समय काम गरेको अनुभव छ । सानिमा र रिलायन्स लाइफको मर्जरपछि कम्पनीको सीईओ बनेका उनी त्यसअघि साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएर अवकाश पाएका उनी त्यसपछि बीमा क्षेत्रमा प्रवेश गरेका थिए । जीवन बीमक संघको अध्यक्ष समेत बनिसकेका उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) पनि हुन् । उनै सीईओ पाण्डेसँग वर्तमान बीमा क्षेत्र र मर्जरपछिको कम्पनीको अवस्थाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त  कुराकानी गरेका छन् ।

बीमा कम्पनीहरू बलिया हुँदा खोज तथा अनुसन्धानमा काम गर्छन, नयाँ-नयाँ बीमा पोलिसी ल्याउँछन्, त्यसले बीमा क्षेत्रलाई धेरै अगाडि बढाउँछ भन्ने सोचका साथ कम्पनीहरूबीच मर्जर तथा पुँजी वृद्धि गरियो । पुँजी वृद्धिपछि तपाईंको कम्पनीले यसतर्फ कत्तिको ध्यान दिइरहेको छ ? सिनर्जी कत्तिको सिर्जना भइरहेको छ ?

मर्जर आफैंमा चुनौति हो । वित्तीय विवरण डाउनलोड गरेर जोड्ने र मान्छेलाई एक ठाउँमा राखेजस्तो होइन । सबै विषय भावनात्मक हिसाबमा व्यवस्थापन हुनुपर्छ । मुख्यगरी कर्मचारी एकीकृत गर्नुपर्छ । दुई फरक संस्कृति र प्रणालीबाट आएका हुन्छन् । जसमा आ-आफ्ना सेवा सुविधा, काम गर्ने तरिका हुन्छन् । यी सबै विषय गाँसेर एउटै सुत्रमा बाध्नु पर्ने हुन्छ । त्यसपछि सिनर्जी इफेक्ट हुने, व्यवसाय वृद्धि हुने र नयाँ प्रडक्टहरू ल्याउने हो ।

विभिन्न किसिमका प्रडक्टहरू नाफायोग्य र दीर्घकालीन छन् कि छैनन् भनेर परीक्षण गर्नुपर्छ । अहिले कायम प्रडक्टहरूलाई बजारको आवश्यकता अनुसार र समय परिस्थिती बनाएर नयाँ प्रडक्ट ल्याउने हो । नयाँ पुस्ताको चाहनाअनुसार प्रडक्ट ल्याउन यस कम्पनीले काम गरिरहेको छ । कस्ट इफेक्टिभ हुने गरी प्रडक्टमा इनोभेसन गरिरहेको छ । सबैलाई बीमाको सुत्रमा बाँध्न र भविष्यमा समस्या नआउने गरी काम गरिरहेका छौं ।

अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर पर्याे । यो समस्याबाट माथि उठ्न  तपाईंको कम्पनीले कस्ता किसिमका नविनतम अभ्यास गरिरहेको छ ?

बीमा क्षेत्र पनि अर्थतन्त्रको एउटा पार्ट हो । जसले अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याइरहेको छ । तर, राज्यले बीमा क्षेत्रलाई त्यो नजरले हेरेको छैन । हो, अहिले अर्थतन्त्रमा व्यापक संकुचन आएको छ । घरजग्गा कारोबार र पुँजी बजार घटेको छ । लगानीकर्ताहरूको मनोबलमा गिरावट आएको छ । बैंकमा प्रयाप्त पैसा भएपनि लगानीकर्ताहरूले कर्जा पाएका छैनन् । उत्पादन र खपत गर्ने मान्छे विदेश पलायन भएका छन् । यस्तो परिस्थितिमा बीमा गर्न असहज हुन्छ । बीमा भनेको आफ्नो सुरक्षाका लागि फोर्सफूल बचत गर्नु हो । बचत गर्न व्यक्तिसँग केही न केही त हुनुपर्छ । अर्थतन्त्र चलायमान भएर आम्दानी भएपछि मात्रै बीमा गर्ने हुन् ।

अहिले बैंकहरूको ब्याजदर निरन्तर घटिरहेको छ । ब्याजदर घट्दा लागत कम गई कर्जा प्रवाह वृद्धि हुने हो । बैंकका लागि बीमा कम्पनी लगानीकर्ता हुन् । बीमा कम्पनीले बैंकमा रकम जम्मा गर्दा व्यक्तिलेभन्दा १ प्रतिशत ब्याज कम पाउँछन् । एकातिर अर्थतन्त्र संकुचन हुँदा व्यापार व्यवसाय कम हुने र बैंकमा रकम जम्मा गर्दा कम ब्याज पाउँदा व्यवसाय घटेको छ । त्यसैले अहिले कम्पनीलाई सस्टेन गर्ने हो । टिकाउको सिद्धान्त लागु गरेर लगानीका नयाँ क्षेत्रहरू बीमा प्राधिकरणले खोज्नुपर्छ । बीमा प्राधिकरणले तोकेका क्षेत्रमा जोखिम कम, नाफा बढी, उपयुक्त प्रतिफल आउने गरि लगानी गर्नुपर्छ ।

बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन्, त्यसैले बीमा कम्पनीको व्यापार घटेको भनेर बीमकहरूबाट पटक-पटक सुनिन्छ । बीमा कम्पनीहरू किन आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ?

बैंकले उद्योगी व्यापारीलाई लगानी गर्ने हो । उद्योगी व्यापारीहरूले व्यापार व्यवसाय गर्ने, निर्यात गर्ने, स्थानीय बजारमा खपत गरेर बचत रकम लगानी गर्छ । साथै, अहिले सहकारी संस्थाहरूमा समस्या आएको छ । सहकारी संस्थामा बचत गर्ने, आवश्यक परेका बेला ऋण लिन्थे । अहिले सहकारी संस्थाहरूमा समस्या आउँदा पैसा पाउने ठाउँ पनि रहेन । त्यसबाट पनि मनोबल खस्कियो । यदि बैंकमा पैसा नराखी लगानी गर्ने हो भने बीमा कम्पनीका लागि १५/२० वर्ष (दीर्घकालीन) बण्ड चाहियो । उक्त बण्डबाट अन्यले भन्दा बीमा कम्पनीले एक÷दई प्रतिशत बढी रिटर्न पाउनुपर्छ । त्यसपछि मात्रै एसेट र लायबिलिटिजको म्याचिङ हुन्छ । बीमा कम्पनीले २०÷२५ वर्षका लागि प्रिमियम संकलन गरेका छन् । तर, त्यो रकम एक वर्ष, ५ वर्ष, ६ वर्षको लागि मात्रै जम्मा गरिरहेका छन् ।

बीमा कम्पनीहरूका लागि नयाँ अवसर के-के छन् ?

बीमा कम्पनीहरूका लागि अवसर नै अवसर हुनु पर्ने हो । बैंकमा राखेको पैसा झिकेर अन्य क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ । नयाँ क्षेत्र जहाँ बीमा कम्पनी पुगेका छैनन् । त्यो क्षेत्र पनि खोल्नुपर्छ । राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि व्यवसाय विस्तारका लागि सोच्नुपर्ने बेला आइसकेको छ । राज्यले पनि कर छुट नीति ल्याउनुपर्छ । बीमा लगानी गर्दा छुट दिन्छु भनेर सरकारले घोषणा गर्नुपर्छ । राज्यले पुर्वाधार विकास, सडक बाटो बनाउन बीमा बण्ड ल्याउनुपर्छ । २०-३० वर्षको बण्ड किन्न बीमा कम्पनीहरू तयार छन् । जीवन बीमा सबैलाई आवश्यकता हो, यसलाई बाध्यता बनाइदिनुपर्याे ।

वर्तमान समयमा बीमा व्यवसायमा समस्या, जोखिम र अवरोध के-के छन् ?

बीमा गर्नुपर्छ भन्ने चेतनाको कमी छ । सबैलाई कन्भिन्स गर्न सकिएको छैन । बीमा क्षेत्र पनि सो अनुसार विकास हुन सकेका छैनन् । बीमाको दायरा बढ्दै छ, विस्तारै बुझाउँदैछौं । अहिले अर्थतन्त्रमा संकुचन आउँदा सुस्ताएको हो । बीमा सकारात्मक पक्ष हो, अफ्ठ्यारो पर्दा सहयोगी साथी हो, जीवनमा कुनै असहज परिस्थिती आयो भने परिवारको सुरक्षा हो, बच्चाबच्चीलाई पढाउन सहयोग गर्ने, बुढेसकालको साहारा हो । यी सबै विषयलाई हामीले कन्भिन्स गरेर व्यवसाय गर्नु चुनौति छ । कसैलाई सामान बेचे जस्तो सजिलो छैन । बीमा पोलिसी बिक्री गर्नु भनेको एउटा कागजमा विश्वास बेच्नु हो । २०/३० वर्षमा यति रकम पाइन्छ भनेर कमिटमेन्ट गरिएको हुन्छ । त्यो कमिटमेन्ट अनुसार विश्वास दिलाउन सहज छैन । कहिलेकाहीँ एक/दुई जनामा समस्या आएर झुटको खेती गर्ने, बिरामी मान्छेको बीमा गर्ने लगायतका विषय बीमा कम्पनीका लागि जोखिम छ ।

बीमा कम्पनीहरूको संरक्षण र प्रवर्द्दनमा नेपाल बीमा प्राधिकरणले खेल्नु पर्ने भूमिका के हो ?

बीमकको अभिभावक तथा नियमनकारी निकायको रूपमा बीमा प्राधिकरण छ । प्राधिकरणले बीमा कम्पनीको लगानी संरक्षण गर्नुपर्छ । व्यवसाय गर्दा भोग्नु परेका समस्याहरूलाई सहजीकरण गर्ने र व्यवसायलाई विस्तारमा जोड दिने हो । बीमालाई प्रत्येक नेपालीको घरघरमा पुर्याउनुपर्छ । गरिब, विपन्न वर्गलाई बीमा बारे सचेतना गराउने र व्यवसायलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्छ । कहिलेकाहीँ कानुनभन्दा बाहिर गएर अस्वस्थ प्रतिस्पर्धा गर्याे भने सही ट्रयाक तथा कारवाहीको दायरामा ल्याउनुपर्छ । प्राधिकरणले सबै कम्पनीलाई समान व्यवहार गर्नुपर्छ । बीमा कम्पनीको निरिक्षण गर्ने, जानकारी लिने र आइपरेका समस्या समाधान गर्ने, व्यवसाय वृद्धि गर्न आवश्यक नीति नियम बनाउने, निर्देशन जारी गर्ने, नीति निर्देशनभन्दा बाहिर गएर काम गर्ने कम्पनीलाई सही बाटोमा ल्याउने काम गर्नुपर्छ । बीमा व्यवसायलाई अर्थतन्त्रको मेरूदण्डका रूपमा स्थापित गराउने भूमिका प्राधिकरण खेल्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.