सुदूरपश्चिमका अर्थमन्त्रीले भएजतिका शीर्षकमा बढाए कर, सवारी कर ५८ हजारसम्म

  २०८१ असार २ गते १५:०४     विकासन्युज

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न शीर्षकमा कर बढाएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत् विभिन्न शीर्षकमा अधिकतम् ५ हजार रुपैयाँसम्म कर बढाएको हो ।

प्रदेश सरकारले यस पटक मोटरसाइकलमा समेत प्रदुषण जाँच दस्तुर लगाएको छ । सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले विभिन्न शिर्षकमा अधिकतम् ५ हजार रुपैयाँसम्म कर बढाएको बताएका हुन् ।

सवारी कर पाँच हजारसम्म बढ्यो

सुदूरपश्चि प्रदेश सरकारले सवारी कर पाँच हजार रुपैयाँसम्म बढाएको छ । सरकारले न्यूनतम १ हजार सीसीदेखि अधिकतम् २९०१ देखि माथिका सवारीमा वार्षिक ५८ हजार रुपैयाँसम्म कर निर्धारण गरेको छ ।

यसअघि २९०१ माथि सीसीका सवारीको वार्षिक कर ५३ हजार रुपैयाँ मात्रै थियो । यस्तै, डोजर, एक्साभेटर र रोलरमा पनि ४० हजार रुपैयाँ कर लगाएको छ । यसअघि यस्ता सवारीमा वार्षिक ३५ हजार रुपैयाँ कर लगाएको थियो ।

प्रदुषण जाँच दस्तुर

सुदूरपश्चिम प्रदेश सरकारले प्रदुषण जाँच दस्तुर पनि बढाएको छ । यसअघि सार्वजनिक ठूला सवारीमा ३ हजार र सानामा २ हजार रुपैयाँ प्रदुषण लाग्दै आएकोमा अब सार्वजनिक ठूला सवारीमा ५ हजार र साना सवारीमा ३ हजार रुपैयाँ लाग्नेछ ।

यसअघि निजी ठूला सवारीमा ५ हजार र सानामा २ हजार रुपैयाँ कर लाग्दै आएकोमा अब निजी ठूलामा ७ हजार र साना सवारीमा ५ हजार रुपैयाँ निर्धारण गरेको छ । प्रदेश सरकारले मोटरसाइकलमा पनि प्रदुषण दस्तुर लगाएको छ । अब प्रत्येक वर्ष मोटरसाइकल चालकले प्रदुषण कर अन्तर्गत ३ हजार रुपैयाँ तिर्नु पर्नेछ ।

जाँचपास प्रमाणपत्र दस्तुर

सुदूरपश्चिम प्रदेशले जाँचपास प्रमाणपत्र दस्तुर पनि एक हजार रुपैयाँले बढाएको छ । प्रदेश सरकारले ठूला सवारीमा ६ हजार मझौलामा ५ हजार र साना सवारीमा ४ हजार दुस्तुर निर्धारण गरेको छ । यसअघि यस्तो सवारीमा क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ दस्तुर थियो ।

ई-रिक्सा/अटो रिक्सा कर 

अटो रिक्सा र ई-रिक्सामा पनि कर बढेको छ । निजी तथा सार्वजनिक ई-रिक्साको कर वार्षिक ८ सय रुपैयाँले बढेको छ । यसअघि २ सय रुपैयाँ मात्रै थियो । नवीकरण दस्तुर पनि ५० रुपैयाँबाट बढाएर २ सय रुपैयाँ पुर्याइएको छ ।

निजी तथा सार्वजनिक अटो रिक्सामा पनि कर बढाएको छ । प्रदेश सरकारले दर्ता शुल्क ५ सय बढाएर एक हजार रुपैयाँ पुर्याएको हो । वार्षिक नवीकरण दस्तुर पनि एक हजारबाट २ हजार रुपैयाँ पुर्याएको छ भने नवीकरण दस्तुर २ सय रुपैयाँबाट पाँच सय रुपैयाँ कायम गरेको छ ।

यातायात सेवा सञ्चालन अनुमतिपत्र शुल्क

यातायात सेवा सञ्चालन अनुमति पत्र शुल्क पनि २ हजार रुपैयाँले बढेकाे छ । १५ लाख रुपैयाँसम्म पुँजी भएका कम्पनीका लागि १ हजार ५ सय, १५ लाखदेखि ५० लाख रुपैयाँसम्मका लागि ४ हजार र ५० लाख लाख रुपैयाँसम्मको लागि ७ हजार रुपैयाँ कायम गरेको छ । गत वर्ष यस्तो कर क्रमशः १ हजार ३ हजार र ५ हजार रुपैयाँ थियो ।

पञ्जिकृत दस्तुर

यातायात सेवा सञ्चालन अनुमति पञ्जिकृत दस्तुर पनि बढेको छ । १५ लाख रुपैयाँभन्दा कम पुँजीका लागि १५ सय, १५ लाख रुपैयाँदेखि ५० लाखसम्मका लागि ३ हजार पाँच सय ५० लाख रुपैयाँ भन्दा बढी पुँजीका लागि ५ हजार ५ सय रूपैयाँ कर तोकेको छ । यसअघि यस्तो दस्तुर क्रमशः १ हजार, २ हजार ५ सय र ४ हजार रुपैयाँ थियो ।

बाटो इजाजत पत्र दस्तुर २०० ले बढ्यो

५ सिटभन्दा बढी र १४ सिटभन्दा कमका सवारी साधानको बाटो इजाजत पत्र दस्तुर पनि २ सय रुपैयाँले बढेको छ । यसअघि १ देखि ५० किलोमिटरसम्मको ६ सय रुपैयाँ रहेकोमा अहिले ८ सय, ५१ देखि १ सय किलोमिटरको ८ सय रहेकोमा अहिले १ हजार रुपैयाँ र यसअघि १०१ देखि १५० किमिको १ एक हजार रुपैयाँ रहेकोमा अहिले १२ सय रुपैयाँ तोकिएको छ । १५१ देखि २५० किमीसम्मको १ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यसमाथिका सावारीमा भने कर हेरफेर भएको छैन ।

यस्तै, एक जिल्लामा मात्रै सञ्चालनमा हुने ट्याक्सी, कार तथा जिपको १ हजार ५ सय, २ जिल्लाको २ हजार, तीन जिल्लाको २ हजार ५ सय र चार जिल्लाको ३ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअघि यस्ता सवारीमा क्रमशः १ हजार, १ हजार ५ सय र २ हजार रुपैयाँ दस्तुर थियो । यसअघि चार जिल्ला भनेर निर्धारण गरिएको थिएन ।

यस्तै, अन्तर स्थानीय तहको दस्तुर पनि बढाएको छ । एउटा स्थानीय तहभित्र सञ्चालक हुने सवारीको ४ सय, दुई वटा स्थानीय तहमा सञ्चालन हुने सवारीकाे ६ सय र तीन वटा स्थानीय तहमा सञ्चालन हुने सवारीमा ८ सय रुपैयाँ कर लगाइएको छ । विगतमा यस्तो सवारीमा क्रमशः ३ सय, ५ सय र ७ सय रुपैयाँ दस्तुर थियो ।

सवारी साधान नामसारी दस्तुर ३ सय रुपैयाँले बढ्यो

सवारी साधन नामसारी दस्तुर पनि ३ सय रुपैयाँले बढेको छ । सार्वजनिक ठूला सवारीको नामसारी दस्तुर १ हजामर ८ सय र मझौलाको १ हजार २ सय र सानाको १ हजार रुपैयाँ तोकिएको छ । यस्तो दस्तुर विगतमा क्रमशः १ हजार ५ सय, एक हजार र ८ सय रुपैयाँ थियो ।

यस्तै, निजी ठूला सवारीको १ हजार २ सय, मझौलाको ९ सय र सानाको ८ सय रुपैयाँ तोकिएको छ । विगतमा यस्तो सवारीमा क्रमशः एक हजार, ७ सय र ६सय रुपैयाँ थियो ।

सवारी साधन सरुवा दस्तुर ५ सयले बढ्यो

सुदूरपश्चिम प्रदेशबाट अन्य प्रदेशमा सार्वजनिक सवारी सरुवा सहमति भई गएका सवारीको दस्तुरमा पनि ५ सय रुपैयाँ कर बढेको छ । प्रदेश सरकारले ठूला सवारीमा २ हजार ५ सय, मझौलामा २ हजार र सानामा १३ सय रुपैयाँ दस्तुर तोकेको छ । यस्तो दस्तुर विगतमा क्रमशः २ हजार १ हजार ५ सय र १ हजार रुपैयाँ थियो ।

निजी सवारीमा पनि ठूला सवारीमा १ हजार ३ सय सानामा ७ सय रुपैयाँ निर्धारण गरेको छ । यसअघि यस्ता सवारीमा ठूलामा १ हजार र सानामा ५ सय रुपैयाँ लाग्ने गरेको थियो ।

विद्युतीय गाडीमा ३५ हजारसम्म कर 

प्रदेश सरकारले सार्वजनिक विद्युतीय गाडीमा पनि कर बढाएको छ । प्रदेश सरकारले ४९ किलोवाटको गाडीमा ३ हजार ५ सय, ४९ देखि १२५ किलोवाटका गाडीमा ६ हजार, १२५ देखि २२५ किलोवाटमा १३ हजार २२५ देखि माथिका गाडीमा २० हजार र ईरिक्सामा ३ हजार कर लाग्ने घोषणा गरेको छ । यसअघि यस्तो गाडीमा क्रमशः २ हजार ५ सय, ४ हजार ५ सय, १० हजार र १५ हजार रुपैयाँ कर लगाउने गरेको थियो ।

यस्तै, ५०० किलोवाटका मोटरसाइकलमा १ हजार २ सय, ५०० देखि १ हजारसम्म १ हजार ७ सय, १००१ देखि १५ सयसम्म २ हजार तीन सय र १५ सयमाथिका मोटरसाइकल स्कुटरमा ३ हजार ५ सय रुपैयाँ कर निर्धारण गरेको छ ।

यस्तै, ४९ किलोवाटसम्मका सवारीमा १२ हजार, ४९ देखि १२५ किलोवाटसम्मका १८ हजार, १२५ देखि २२५ मिलोवाटसम्मका २४ हजार र २२५ देखि माथिका किलोवाटका ३५ हजार रुपैयाँ निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.