राष्ट्रिय वाणिज्य बैंकका सीईओ खनालले लिए शपथ

  २०८१ जेठ ११ गते १२:४६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले शपथ तथा पदभार ग्रहण गरेका छन् । बैंकका सीईओ खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम देवेन्द्ररमण खनाललाई बैंकको सीइओको पदमा चार वर्षका लागि नियुक्ति गरिएको थियो ।

पदभार ग्रहणको अवसरमा नवनियुक्त सीइओ खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यन्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने बताए ।

चार्टड एकाउन्टेन्ट खनाल यसअघि बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृत हुन् । २०६४ सालमा चार्टड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् ।

यस अघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी नियुक्त गर्नका लागि बैंकले गत वैशाख ७ गते दरखास्त आवेदन माग गरेको थियो ।

कार्यक्रममा बैंकको सीईओ पदमा नवनियुक्त भएका खनाललाई बैंक सञ्चालक समिति, व्यवस्थापन समिति तथा बैंकमा क्रियाशिल ट्रेड युनियनका अध्यक्षहरुबाट बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । उक्त कार्यक्रम कम्पनी सचिव हेमराज खरेलले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.