बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च

  २०८१ वैशाख २७ गते १४:१८     विकासन्युज

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म कूल विनियोजित बजेटको ३८.९२ प्रतिशत बजेटमात्र खर्च गरेको छ ।

चालु आर्थिक वर्षको १० महिना सकिनै लाग्दा प्रदेश सरकारका मन्त्रालयको बजेट खर्च न्यून देखिएको हो । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडा मकवानपुरका अनुसार प्रदेश सरकारको विभिन्न मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म कूल विनियोजित बजेटको ३८.९२ प्रतिशत अर्थात् २४ अर्ब ४० करोड ७८ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।

सो अवधिमा प्रदेश सरकारको मन्त्रालयहरुले चालुतर्फ ११ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ तथा पुँजीगततर्फ १२ अर्ब ९९ करोड २५ लाख रुपैयाँ बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आठ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले दुई अर्ब ८६ करोड रुपैयाँ, स्वास्थ्य मन्त्रालयले एक अर्ब ८६ करोड रुपैयाँ, सामाजिक विकास मन्त्रालयले एक अर्ब ६९ करोड रुपैयाँ, वन तथा वातावरण मन्त्रालयले एक अर्ब २३ करोड २९ लाख रुपैयाँ, कृषि तथा पशुपक्षी मन्त्रालयले ८१ करोड नौ लाख रुपैयाँ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ६३ करोड ३६ लाख रुपैयाँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १९ करोड ६५ लाख रुपैयाँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १७ करोड ४८ लाख रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्रालयले नौ करोड ५४ लाख रुपैयाँ खर्च गरेको प्रमुख लेखा नियन्त्रक उपाध्यायले बताए ।

त्यस्तै प्रदेशसभा सचिवालयले १४ करोड ५६ लाख रुपैयाँ बजेट खर्चको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालयले जनाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब ४२ करोड १२ लाख रुपैयाँ, पुँजीगततर्फ ३५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ र वित्तिय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ गरी ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.