नार्कका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

  २०८१ जेठ ७ गते ९:१७     विकासन्युज

पोखरा । राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानले प्राविधिक र वैज्ञानिक कर्मचारीहरूका लागि आयोजना गरेको ‘डिजिटलाइजेसन अफ रिसर्च डाटा’ विषयक तालिम मत्स्य अनुसन्धान केन्द्र, बेगनास, पोखरामा आइतबारदेखि सुरु भएको छ ।

तीन दिनसम्म चल्ने उक्त तालिमको उद्‍घाटन गर्दै प्रमुख अतिथि नार्कका योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डेले यो तालिमले कर्मचारीलाई अनुसन्धानका तथ्याङ्कहरू व्यवस्थित गर्न सहयोग पुग्ने बताए ।

उनले यस्ता तालिमबाट अनुसन्धानमा संलग्न कर्मचारीलाई छोटो समयमा अनुसन्धानका नतिजा पत्ता लगाउन सहयोग पुग्ने हुनाले क्रमशः सबै प्राविधिक र वैज्ञानिकहरूलाई दक्ष बनाउँदै लैजानुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमका अध्यक्ष राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक बिनेशमान साखःले आगामी दिनमा पनि प्रतिष्ठानले यस्ता तालिमहरू सञ्चालन गर्दै जाने र कर्मचारीको क्षमता बढाउन कृषि विज्ञानका नयाँ प्रविधिबाट नार्कले लाभ लिने बनाउन प्रयत्‍नरत रहनुपर्ने बताए ।

प्रतिष्ठानका प्रशासकीय अधिकृत अञ्जली बज्राचार्यले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले सहभागी र प्रशिक्षकलाई स्वागत गर्दै प्रतिष्ठानले नार्कभित्रका कर्मचारीलाई समयानुकूल तालिम सञ्चालन गर्नु प्रशंसनीय रहेकोले यस्ता थप तालिम दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागवानी अनुसन्धान केन्द्र, मालेपाटनका प्रमुख डा. सुनिल अर्याल, कफी अनुसन्धान कार्यक्रम, गुल्मीका संयोजक जीतनारायण चौधरी, मत्स्य अनुसन्धान केन्द्र, बेगनासका प्रमुख डा. मोहम्मद इकबाल हुसेन, सिमिट नेपालबाट प्रशिक्षक सरल कार्की, नार्कबाट प्रशिक्षक डा. उज्ज्वलकुमार कुशवाह लगायतको उपस्थिति थियो ।

तालिममा नार्कका विभिन्न कार्यालयमा कार्यरत प्राविधिक, प्राविधिक अधिकृत र वैज्ञानिक गरी १६ जनाको सहभागिता छ । यस्तै तालिम थप कर्मचारीका लागि केही दिनमै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रममा पनि आयोजना गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.