उड्डयन प्राधिकरण, निगम र एयर इन्डियाविरुद्ध आन्दोलन गर्ने पर्यटन मजदुर संघको चेतावनी

  २०८१ वैशाख २४ गते १२:५८     विकासन्युज

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाई क्षेत्रमा कार्यरत श्रमिकहरूले सरकारको अधिनमा रहेका संस्थाहरू नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमले शोषण गरिरहेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।

सोमबार युनियन अफ ट्रेकिङ ट्राभल्स र्याफ्टिङ वर्कर्स नेपाल (युनिट्राभ) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धि तालिमसँगै पत्रकार सम्मेलन गर्दै नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगममा कार्यरत कर्मचारीलाई गरेको शोषणबारे उजागर गर्दै शोषण अन्त्य नभए आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।

त्यसैगरी एयर इन्डिया टाटाले गरेको शोषणको भण्डाफोर गर्दै आन्दोलनमा उत्रिने श्रमिकहरूको चेतावनी छ । यी संस्थाले श्रमिक एवं कर्मचारीलाई तलब भत्तादेखि सबै सेवा सुविधामा विभेद गरेको उनीहरूको आरोप छ ।

यस्तै कार्यथलोमा मर्यादित ज्यालाको साथै सामाजिक सुरक्षा, व्यवसायजन्य स्वास्थ्य सुरक्षा नभएको उनीहरूले बताएका छन् ।

यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले श्रमिकहरूले मे दिवसजस्तो श्रमिकको चाड, महिला दिवसदेखि सिपमूलक कार्यक्रममा सहभागी हुन जाँदा उल्टै तलब, भत्ता काट्ने र श्रमिकलाई शोषण गर्ने कार्य भइरहेको भन्दै यसप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकाे शोषण

युनिट्राभले जनाएअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणमा दुई फरक तरिकाबाट श्रमिक राखिएको र त्यसमध्ये आउट सोर्सिङ कम्पनीबाट रोजगारीमा राखिएका श्रमिकलाई कानुनअनुसार पाउनुपर्ने बिदा सुविधा नदिने, ४ वर्षदेखि वृद्धि भएको तलब–भत्ता नदिने, कानुनले दिएको अन्य सेवा, सुविधा पनि नदिने अवस्था रहेको छ ।

श्रमिकका परिवारमा कसैको निधन भएर बस्नुपरेको बिदासमेत श्रमिकले नपाउने भन्दै उनीहरूले सुत्केरी स्याहार बिदा बस्दा पनि बिदा नदिई तलब काट्ने गरेको गुनासो गरेका छन् ।

‘सुत्केरी स्याहारका लागि ३ दिन बिदा बस्दा ५ दिनको तलब काट्ने, ५ दिन बिदा बस्दा आठ दिनको तलब काट्ने जस्ता प्रवृति हुने गरेको छ, यस्ता विषयमा मुख्य रोजगारदाता नेपाल नागरिक उड्डयन प्राधिकरणसँग श्रमिकका समस्याबारे कुरा राख्दा आउट सोर्सिङ कम्पनीलाई राखेर समस्या समाधान गर्नुको साटो उल्टै ठेकेदारको पहरेदारको रूपमा कार्य गरी श्रमिकलाई हप्काउने गरेको छ,’ यूनिट्राभका अध्यक्ष पराजुलीले भने, ‘यसबाट के प्रष्ट हुन्छ भने श्रमिकको पारिश्रमिक कटौति गरेर नागरिक उड्डयन प्राधिकरणका केही कर्मचारीहरु रकमको चलखेल गरी फाइल मिलाएर श्रम ऐन र श्रमिकले पाउनुपर्ने सेवा, सुविधामा कुठाराघात गरिरहेका छन् ।’

यूनिट्राभले यस्ता गलत कार्यको घोर विरोध गर्दै गलत क्रियाकलापको विरुद्धमा उत्रने चेतावनी दिएको हो ।

नेपाल वायुसेवा निगमतर्फ शोषण

यूनिट्राभका अनुसार नेपाल वायुसेवा निगममा पनि श्रम शोषण भइरहेको छ । ‘निगमअन्तर्गत नेपाल वायुसेवा निगमबाटै पारिश्रमिक लिने ट्रान्सपोर्ट ग्राउन्ड ह्यान्डलिङदेखि कार्यालयमा ६ वर्षदेखि २८ वर्षसम्म कन्ट्रयाक्ट, क्याजुअल, ज्यालादारी, करारमा कार्यरत करिब ६०० जना श्रमिकको उपदान, सञ्चयकोष, अरु कर्मचारी सरहको सेवा, सुविधा दिइएको छैन,’ यूनिट्राभको विज्ञप्तिमा उल्लेख छ, ‘कति श्रमिकको जागिरकोक्रममा निधन भइसके पनि ती निधन भएका परिवारका सदस्यले आफ्ना निधन भएका व्यक्तिको सञ्चयकोष, उपदानबापतको केही नपाउने र व्यवस्थापनले थाहा नपाएको भन्दै श्रमिकमाथि शोषण गरिरहेको छ ।’

एयरलाइन्समा भएको विभेद एवं शोषण अन्त्य गर्न माग गर्दै श्रमिकहरूले आफूहरूले सामाजिक सुरक्षा अन्तरगत पाउनुपर्ने मौलिक हकभित्र रहेका सबै सेवा, सुविधा उपलब्ध गराउन र श्रमिकलाई बाँच्न पुग्ने हिसाबले तलब, भता उपलब्ध गराउन माग गरेका छन् ।

अध्यक्ष पराजुलीले भने, ‘नेपाल एयरलाइन्सभित्र आउट सोर्सिङ कम्पनीद्वारा पनि व्यापक श्रम शोषण भइरहेको छ, निगमले लगभग ४ सय वटा विभिन्न आउटसोर्सिङ कम्पनिबाट श्रमिक आपूर्ति गराएर काम लगाएको छ, ती श्रमिकलाई ४ वर्षदेखि तलब र कुनै प्रकारको सेवा, सुविधा बढाउने काम भएको छैन, तलव वृद्धि बारम्बार माग गर्दा पनि सुनुवाइ भएको छैन, श्रमिकका बारेमा कुरा गर्दा आउट सोर्सिङ कम्पनीले मुख्य रोजगारदाता नेपाल एयरलाइन्सलाई देखाउने, मागपत्र राख्न जाने श्रमिकलाई गर्दै नगरेको गल्ती देखाएर पास खोसिदिने कार्य नेपाल एयरलाइन्सका केही माथिल्लो तहका कर्मचारीबाट हुँदै आएको छ ।’

नेपाल एयरलाइन्समा तलब, सेवा, सुविधा, बिदादेखि सामाजिक सुरक्षाको बारेमा श्रमिकले भनाइ राख्दा प्रतिसोधको भावना राखेर रोजगारीबाट हटाउनेसम्मको धम्की दिने कार्य भइरहेको श्रमिकहरूको गुनासो छ । त्योसँगै श्रमिकले पाउनुपर्ने सेवा, सुविधा नदिइ श्रमिकलाई दिएको भनेर कागज मिलाएर नेपाल एयरलाइन्स एयरपोर्टमा रहेको कार्यालय र आउट सोर्सिङ कम्पनीले मिलोमतो गरेर आर्थिक चलखेल गरिरहेको यूनिट्राभको आराेप छ ।

एयर इन्डिया टाटाकाे शोषण

यूनिट्राभले नेपालमा ४ दशकदेखि पहिला इन्डियन एयरलाइन्स त्यसलगत्तै एयर इन्डिया र हाल नाम परिवर्तन गरेर एयर इन्डिया टाटाको नामबाट उडान भरिरहेको एयर इन्डिया टाटाले व्यापाक श्रम शोषण गरिरहेको जनाएको छ । यूनिट्राभका अनुसार स्थायी कर्मचारी हटाउँदै करार गरेर राख्ने, करार गरेकाहरूलाई सामाजिक सुरक्षा अन्तरगतको उपदान, सञ्चयकोषदेखि बीमा पनि नगरी केही नदिएको र कर्मचारीबीच विभेद गरेको छ ।

माथिल्लो तहमा कार्यरत कर्मचारीले व्यवस्थापकलाई राइट ह्यान्डको रूपमा सहजता पुर्‍याउन यलो युनियन बनाएर आफू अनुकुल प्रमोशन, ज्याला वृद्धि गर्ने गरेको यूनिट्राभले जनाएको छ । एयर इन्डिया टाटामा श्रम ऐन नियम विपरित श्रम सम्झौता गरेर काममा लगाएको र यो तत्काल अन्त्य हुनुपर्ने यूनिट्राभको माग छ । हवाई क्षेत्रमा रहेको समस्या तत्काल सम्बोधन नगराइए त्यसको प्रतिरोधमा उत्रने यूनिट्राभको चेतावनी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.