२०८१ वैशाख २२ गते ९:५८ विकासन्युज
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका-२ र्यालेखोर र भाइवाङमा ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मंगला गाउँपालिका र उपभोक्ताको ९२ लाख २४ हजार ९८७ को लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन् ।
उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिए ।
‘यसअघि पाँच घरका लागि एउटा सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो,’ उनले भने, ‘वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।’
मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरूपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताए ।
नेवा संस्थाको ३८ लाख ७१ लाख तीन सय सात, मंगला गाउँपालिकाको २७ लाख अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार चार सय ६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।
अध्यक्ष आचार्यका अनुसार उपभोक्ताको श्रमदानका अलावा थप ३ लाख ७५ हजार २१२ नगद संकलन गरिएको थियो ।
त्रिभुवन मंगला मावि र र्यालखोर बस्तीका लागि पहिराको मुहानबाट पानी तानेर र भाइवाङ बस्तीमा पँधेराको मुहानको वितरण गरिएको हो ।
नेवा संस्थाको सहयोगमा मंगला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माणाधीन छन् ।
संस्थाका प्राविधिक गोर्खबहादुर शाहीले खानीगाउँ र हिदीमा निर्माणाधीन आयोजना अन्तिम चरणमा रहेको बताए । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिने उनले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.