कोरियाबाट फर्केर माछापालनमा रमाउँदै बागलुङका लक्ष्मण

  २०८१ जेठ ५ गते १३:२०     विकासन्युज

गलकोट । बागलुङ नगरपालिका-४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङ बजार बस्दै आएका काठेखोला गाउँपालिका-८ लेखानीका पुनले विगत ६ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन् ।

उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हुन् । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन् ।

‘श्रमिकका रूपमा कोरिया पुगेको थिएँ, कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ, कोरियामा कमाएको पैसाले १४ रोपनी जग्गा भाडामा लिएर माछापालन, तरकारीखेती र रिसोर्ट खोलेको हुँ,’ उनले भने, ‘कोभिड–१९ सुरु हुनुअघि एकैपटकमा माछाबाट छ लाखसम्म आम्दानी भयो । त्यसपछि दानाको मूल्य बढ्यो र माछा उत्पादन घटेको छ ।’

पुनका अनुसार माछाको उत्पादन राम्रो भएमा लगानीको दोबर नाफा हुन्छ । कोरियामा जस्तै नेपालमै काम गर्नसके कमाउन सकिन्छ भन्ने लागेर लगानी गरेको उनको भनाइ छ । ५० लाख रूपैयाँ लगानी गरेकाले आम्दानी भए पनि अहिलेसम्म लगानी उठाउन बाँकी रहेको पुनले बताए ।

उनले छोरा अमृतलाई समेत माछापालनमा लगाएका छन् । माछापालन सिकाउँदै रिसोर्टको जिम्मेवारी छोरालाई दिएका छन् । ‘कोरियामा मेसिनको गतिमा काम हुने, कामप्रतिको लगाव, मेहनत र श्रमप्रतिको सम्मानबारे गतिलो भोगाइ र सिकाइले नेपालमा फर्केर आराम गर्न सकिँन, ६२ वर्षको उमेरमा माछापालनमा उत्तिकै सक्रिय छु,’ उनले भने।

चार वर्ष निकै फस्टाएको माछापालन अहिले घटेको उनको भनाइ छ । १४ रोपनी जग्गाको वार्षिक एक लाख ५० हजार रूपैयाँ भाडा तिर्नुपर्छ। उनले रिसोर्ट, तीन वटा माछापोखरी, रेष्टुराँ, तीन वटा प्लास्टिक टनेल र तरकारीखेती लगाएका छन् ।

पोखरीमा उत्पादित माछा बागलुङ बजारमै खपत हुने भएकाले बजारको चिन्ता नभएको उनले बताए । उत्पादन बढाउन यस वर्ष भुरामा लगानी थप गरेको पुनले जानकारी दिए । तीन लाखको भुरा पोखरीमा हालेपछि राम्रोसँग हुर्केमा १२–१५ लाख आम्दानी हुने तर राम्रो उत्पादन नभएमा ५र६ लाखमै सीमित हुने उनको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.