भारतमा २७१ अर्बपति, मुम्बईमा बढी धनाढ्य

  २०८० चैत १३ गते १८:५४     विकासन्युज

काठमाडौं । भारतमा अर्बपति संख्या बढेर २ सय ७१ पुगेको छ । सन् २०२३ मा अर्बपतिको संख्या ९४ ले बढेको छ ।

यदि यी सबै अर्बपतिको कुल सम्पत्ति जोड्ने हो भने लगभग १० खर्ब अमेरिकी डलरबराबर हुनेछ, जबकि पाकिस्तानको सम्पूर्ण कुल गार्हस्थ उत्पादन (जीडीपी) १५ खर्ब ७० अर्ब डलर छ ।

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी २०२४ को ‘हुरुन ग्लोबल रिच लिस्ट’ मा शीर्ष १० अर्बपतिहरूको सूचीमा परेका एकमात्र भारतीय हुन् ।

मुकेश अम्बानी एसियाकै धनी

रिपोर्टका अनुसार ६६ वर्षीय मुकेश अम्बानीको कुल सम्पत्ति ४० प्रतिशतले बढेर १ खर्ब १५ अर्ब डलर पुगेको छ ।

तर, सम्पत्ति वृद्धि भए पनि अम्बानी विश्वका शीर्ष अर्बपतिको वरियतामा एक स्थान झरेर १०औं स्थानमा पुगेका छन् । उनी एसियाकै धनी व्यक्ति हुन् ।

१५औं स्थानमा गौतम अडानी

अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका धनी व्यक्तिको सूचीमा १५औं स्थानमा छन् र अर्बपतिहरूको सूचीमा अम्बानीपछिका अर्का भारतीय हुन् ।

६१ वर्षीय गौतम अडानीको कुल सम्पत्ति ८६ अर्ब डलर छ । अडानी ग्रुपका कम्पनीहरूको सेयर बढेपछि उनको सम्पत्ति ३३ अर्ब डलरले बढेको छ ।

सेयर बजारका कारण भारतमा थपिए ९४ नयाँ अर्बपति

२०२३ भारतका लागि ‘सुपर मजबुत वर्ष’ रह्यो, किनकि यो वर्ष नयाँ ९४ अर्बपति थपिए । यसो हुनुको कारण हो तीव्र गतिमा बढेको सेयर बजार ।

यसबाहेक प्रमुख भारतीय उद्योगहरूमा औषधी (३९ अर्बपति), अटोमोबाइल र अटो कम्पोनेन्ट्स (२७) र रसायन (२४) अर्बपति समावेश छन् । रिपोर्टका अनुसार यी अर्बपतिको औसत उमेर ६७ वर्ष छ ।

मुम्बईमा बस्छन् सबैभन्दा धेरै अर्बपति

मुम्बई विश्वको सबैभन्दा छिटो बढिरहेको अर्बपतिको राजधानीका रूपमा उभिएको छ।

रिपोर्टका अनुसार सन् २०२३ मा मुम्बईमा २६ नयाँ अर्बपति थपिएका छन् । योसँगै मुम्बई सबैभन्दा धेरै अर्बपति बस्ने सहरको सूचीमा तेस्रो स्थानमा पुगेको छ ।

महाराष्ट्रको राजधानी मुम्बई एसियाको अर्बपति राजधानी हो । नयाँदिल्ली पहिलो पटक अर्बपतिको संख्याका आधारमा शीर्ष १० मा पुगेको छ ।

पाम बीच, इस्तानबुल, मेक्सिको सिटी र मेलबर्न पनि हुरुनको शीर्ष ३० सहरहरूमा सामेल छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.