अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान करिब २ प्रतिशतमात्र

  २०८१ जेठ १४ गते १८:४२     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार पारेको १५औं योजनाले अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान साढे ८ प्रतिशत हुने लक्ष्य राखे पनि झिनो दरमात्र प्राप्त भएको छ ।

आयोगले आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्ष मानेर पर्यटन क्षेत्रको योगदान सोही वर्ष २.७ प्रतिशत हुने जनाएको थियो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनले आवधिक योजना कार्यान्वयन अनुसार आर्थिक वर्ष २०७९/८० मा पर्यटन क्षेत्रको योगदान ८.५ प्रतिशत हुने लक्ष्य राखेको थियो ।

तर, उक्त अवधिमा लक्ष्यभन्दा निकै कम अर्थात् १.९८ प्रतिशतमात्र सफलता प्राप्त भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै आयोगले २०७५/७६ लाई आधार वर्ष मानेर पर्यटनमा विदेशी मुद्रा आर्जन ५२ करोड ८० लाख अमेरिकी डलर हुने लक्ष्य राखेको थियो ।

सरकारले आर्थिक वर्ष २०७९/८० सम्म पर्यटनमा विदेशी मुद्रा आर्जनको लक्ष्य २ अर्ब ४७ करोड ८० लाख डलर राखेको थियो । तर, उक्त अवधिमा लक्ष्यभन्दा निकै थोरै अर्थात् २८ करोड ५० लाख डलरमात्र आर्जन भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी आयोगले २०७५/७६ लाई आधार वर्ष मानेर पर्यटनमा सांस्कृतिक सम्पदा डिजिटाइजेसन संख्या १५ हजार ५ सय पुर्याउने लक्ष्य राखेको थियो ।

सरकारले आर्थिक वर्ष २०७९/८० सम्म पर्यटनमा सांस्कृतिक सम्पदा डिजिटाइजेसन संख्या २५ हजार पुर्याउने लक्ष्य राखे पनि उक्त अवधिमा लक्ष्यभन्दा बढी ६० हजार पुगेको छ ।

त्यस्तै सोही आर्थिक वर्ष आधार मानेर पर्यटनमा पदमार्ग निर्माण (ग्रेट हिमालयन ट्रेलसमेत) १ सय ८८ किलोमिटर पुर्याउने लक्ष्य आयोगको थियो ।

सरकारले २०७९/८० सम्म पर्यटनमा पदमार्ग निर्माण ९ सय ४१ किलोमिटर पुर्याउने लक्ष्य राखेको थियो । उक्त अवधिमा लक्ष्यभन्दा कम ७ सय ८५ किलोमिटर मात्रै पदमार्ग निर्माण भएको छ ।

यसैगरी आयोगले २०७५/७६ लाई आधार वर्ष मानेर पर्यटनमा नेपाल आउने अन्तर्राष्ट्रिय विमानमा उपलब्ध सिट ८० लाख पुर्याउने लक्ष्य राखेको थियो ।

सरकारले भने आर्थिक वर्ष २०७९/८० सम्म पर्यटनमा नेपाल आउने अन्तर्राष्ट्रिय विमानमा उपलब्ध सिट १ करोड ४० लाख पुर्याउने लक्ष्य राखेको थियो ।

तर, उक्त अवधिमा सरकारको लक्ष्यभन्दा धेरै कम ८७ लाख मात्रै विमान सिट उपलब्ध भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.