सरकारी कार्यालयसँग ६७ हजार सवारी साधन, कुल सम्पत्ति २ खर्ब बढी

  २०८१ जेठ १४ गते १७:१८     विकासन्युज

काठमाडौं । तीनै तहका सरकारका कार्यालयहरूको कुल सम्पत्ति २ खर्ब बढी रहेको देखिएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन अनुसार सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका कार्यालयहरूको कुल २ खर्ब १ अर्ब २६ करोड रुपैयाँको सम्पत्ति अभिलेख राखेको देखिएको हो ।

सङ्घीय सरकारअन्तर्गत ३ हजार ५८४ कार्यालयको कुल १ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ सम्पत्ति रहेको छ । यस्तै, प्रदेशअन्तर्गतका सरकारी कार्यालयहरूमध्ये १ हजार ३०७ कार्यालयमा कुल २९ अर्ब ७८ करोड रुपैयाँ र स्थानीय तहतर्फको ७११ को ३६ अर्ब ७२ करोड रुपैयाँको सम्पत्ति रहेको छ ।

सार्वजनिक सम्पत्तिको अभिलेख व्यवस्थापन प्रणालीको विवरणअनुसार तीनै तहका कार्यालयहरूमा ६७ हजार ३१७ सवारीसाधन रहेका छन् । जसमध्ये सङ्घीय सरकारी कार्यालयहरूमा २४ हजार ६६० वटा मोटरसाइकल र ११ हजार ९ कार जिप, प्रदेशस्तरका कार्यालयहरूमा ९ हजार ५७१ मोटरसाइकल र १ हजार ९७६ कार जीप, भ्यान तथा स्थानीय तहमा १८ हजार ७११ मोटरसाइकल र १ हजार ३९० वटा कार जीप भ्यान सवारी साधन रहेका छन् ।

तर, यस्ता सवारी साधान परिचालनको मापदण्ड बनाई व्यवस्थित गर्नुपर्ने महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । सङ्घीय सरकारअन्तर्गत २०७९/८० मा ४ हजार ५२ कार्यालय रहेकोमा ३ हजार ५८४ कार्यालयले सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा विवरण प्रविष्ट गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ देखि नै सबै तहमा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली लागु भए तापनि हालसम्म पनि सबै कार्यालयको विवरण प्रविष्टि नभएकोले उक्त प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएको छैन । तसर्थ सबै प्रकारका सामानको आम्दानी, खर्च र मौज्दात प्रविष्ट हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.