नेपालको पर्यटन प्रवर्द्धन गर्न व्यवसायीहरूको टोली मलेशिया प्रस्थान

  २०८० चैत ८ गते २०:२०     विकासन्युज

काठमाडौं । मलेसियाबाट नेपालमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने उद्देश्यले क्वालालम्पुरमा नेपालको पर्यटन प्रवर्द्धन गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा पर्यटन व्यवसायीको टोली मलेसियातर्फ प्रस्थान गरेको हो ।

मलेशियन एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (माट्टा) ले यही मार्च २२ देखि २४ सम्म अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ‘माट्टा फेयर २०२४’ सञ्चालन गर्दैछ । उक्त फेयरमा सहभागी हुन नेपाली पर्यटन व्यवसायी नाट्टाको संयोजकत्वमा १४ पर्यटन व्यवसायी कम्पनीसहितको टोली मलेशिया गएको संस्थाले जनाएको छ ।

मेलामा नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, कोषाध्यक्ष राजकुमार देवकोटा तथा कार्यकारी सदस्य एवं माटा फेयरका संयोजक सुरेश अंगाइलगायत १४ पर्यटन व्यवसायी कम्पनीका प्रतिनिधि सहभागी रहेको नाट्टाले जनाएको छ ।

विगतमा नेपाल पर्यटन बोर्ड तथा नाट्टाको संयुक्त संयोजकत्वमा नेपाली पर्यटन व्यवसायीले यस्ता अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा सहभागिता जनाउने गरेका थिए । नाट्टाले अघिल्लो महिना स्पेनको मेड्रिड र बङ्गलादेशको ढाकामा सम्पन्न व्यापार मेलामा सहभागिता जनाइसकेको छ ।

मलेशिया नेपालका लागि आन्तरिक तथा बाह्य पर्यटनको उदयमान पर्यटन बजारको रुपमा परिचित छ । विशेषतः बिदा पर्यटन, सांस्कृतिक तथा धार्मिक पर्यटनका लागि मलेशियन पर्यटक नेपाल आउने गरेका छन् । पछिल्लो समयमा कैलाश मानसरोवर यात्राका लागि हिन्दू धर्मावलम्बी मलेशियाबाट नेपाल आउनेक्रम बढिरहेको नाट्टाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नाट्टाका अध्यक्ष थापाले संस्थाको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको प्रतिनिधित्व गरिरहेको र व्यवसायीलाई प्रोत्साहन गरी पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.