लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

  २०८१ वैशाख १६ गते ६:४७     विकासन्युज


लुक्ला । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला विमानस्थल) मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन्।

बाक्लो तुवालोले भिजिबिलिटी कमजोर हुँदा दुई दिनदेखि उडान प्रभावित भएपछि पर्यटकहरू समस्यामा परेका हुुन् । धेरै यात्रु तीन दिनदेखि जहाजको पर्खाइमा छन् भने कतिपय पैदल हिँडेर काठमाडौं गएका फर्किएका छन् ।

पथप्रदर्शक आङ्दनु शेर्पाले पदयात्रा सकेर काठमाडौं फर्किने पर्यटकहरू समस्यामा परेका बताए ।

प्याराडाइज लजका सञ्चालक दावाफुटि शेर्पाले पनि समयमा उडान नहुँदा सगरमाथा आधार शिविरबाट फर्किएका विदेशी पर्यटकहरू दुई दिनदेखि लुक्लामै रोकिएका बताए ।

विमानस्थलका प्रमुख उमेश पन्थीका अनुसार दैनिक ५४ सम्म उडान भर्ने सो विमानस्थलबाट शुक्रबार जहाजतर्फ कुनै उडान नभएको र शनिबार भने आठ उडान भएका बताए । हेलिकप्टर उडान भने नियमित भइरहेको पन्थीले जानकारी दिए ।

लुक्ला विमानस्थलमा जहाज उडानका लागि पाँच किलोमिटर भिजिबिलिटी चाहिने गरेको छ । पर्यटकहरू यही विमानस्थल भएर सगरमाथा जाने गरेका छन् भने यहाँबाट दैनिक हेलिकप्टरसहित तीन सय बढी उडान हुने गरेका लुक्लास्थित विमानस्थल कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.