घर कर्जा लिन चाहनुहुन्छ ? यी ५ बैंकबाट पाइन्छ सस्तोमा ऋण

  २०८० फागुन २९ गते १७:५८     विकासन्युज

काठमाडौं । सुस्ताएको घरजग्गा क्षेत्र चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाहरू धमाधम ब्याजदर घटाउन थालेका छन् । विगतमा बैंकहरूले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर उच्च पुर्याएका थिए । तर, पछिल्लो समय बैंकिङ्ग प्रणालीमा प्रयाप्त तरलता भएपछि घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर एकल अंकमा झार्न थालेका हुन् ।

घरजग्गा क्षेत्र चलायमान भएपछि समग्र अर्थतन्त्र नै चलायमान हुने अपेक्षा बैंकरहरूको छ । सोही बमोजिम यतिबेला घर कर्जा सस्तो र सरल बनाउँदै विभिन्न योजनाहरूमा बैंकहरूले ब्याजदर एकल अंकमा झार्न थालेका हुन् । एकल अंकमा घर कर्जा प्रवाह भएपछि घरजग्गा क्षेत्र चलायमान हुने देखिन्छ ।

नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिइरहेको छ । बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ८.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराइरहेको जनाएको छ ।

बैंकले फागुन महिनाका लागि ८.८६ प्रतिशत आधार दर निर्धारण गरेको छ । आधार दरमा १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । सो आधारमा घर कर्जाको ब्याजदर न्यूनतम १०.१६ प्रतिशत र अधिकतम ११.६६ प्रतिशत ब्याजदर हुन आउँछ ।

तर, सो योजनाअन्तर्गत बैंकले ८.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराइरहेको बैैंकको भनाइ छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ । ८.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हो । यदि १०÷१५ वर्षसम्मका लागि कर्जा लियो भने फ्लटिङ रेटमा प्रिमियम परिवर्तन हुने बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) सुजित शाक्य बताउँछन् । उनका अनुसार एकल अंकको घर कर्जा प्रडक्टले बजारमा आर्थिक गतिविधि चलायमान गराउन खोजिएको हो ।

‘ब्याजदर निरन्तर घटिरहेको छ । मार्केट लिक्वीडिटी फ्लस छ । बैंकको आधार दर पनि निरन्तर घटिरहेको छ । आधार दर घटिरहेका बेला एउटा क्षेत्रलाई तोक्यो भने त्यसले समग्र अर्थतन्त्रलाई चलायमान वा प्रभाव पार्ने प्रडक्ट आवासीय घर कर्जा हो,’ उनले भने, ‘घर बनाउन आवश्यक पर्ने स्टिल, सिमेन्ट लगायत क्षेत्र पनि चलायमान हुन्छ, मजदूरहरूले पनि काम पाउनु हुन्छ । त्यो क्षेत्र चलायमान होस् भनेर बैंकले सुलभ दरमा घर कर्जा प्रडक्ट ल्याएको हो ।’

राष्ट्रिय वाणिज्य बैंकले एकल अंकमा घर कर्जा प्रवाह उपलब्ध गराइरहेको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम ‘मेरो घर’ कर्जा योजनामा एक अंकको ब्याजदरमा घर कर्जा प्रवाह गर्ने भएको हो । घर खरिद, घर निर्माण तथा जग्गा खरीद गर्न अधिकतम ५ करोड रुपैयाँसम्म दिईने ‘मेरो घर’ कर्जाको ब्याजदर आधार दरमा १.२० प्रतिशत प्रिमियम जोडिने बैंकले जनाएको छ । हाल बैंकको आधार दर ८.२५ प्रतिशत छ । जसमा यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध हुने बैंकको भनाइ छ ।

कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ । कर्जा रकम मासिक किस्ताबन्दीमा (ईएमआई) भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ । यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिनेछ ।

नेपाल बैंकले ९.९५ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले एनबिएल सुलभ आवास कर्जा अन्तर्गत ९.९५ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार उक्त ब्याजदर ५ वर्षसम्म स्थिर रहने छ । घर निर्माण तथा खरिद गर्न, घर निर्माणका लागि १ सय प्रतिशतसम्म कर्जा र ५ दिनभित्र कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्ष स्थिर ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउँदै आएको छ ।

बैंकका अनुसार ७ वर्षपछि भने औसत आधार दरभन्दा १ प्रतिशत बढी प्रिमियम दर लागू हुनेछ । कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्ने बैकको भनाइ छ । घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशत स्थिर ब्याजदरमा १० वर्ष अवधिका लागि घर कर्जा प्रवाह गरिरहेको छ । विशेष घर कर्जा योजनामा बैंकले १२ करोड रुपैयाँसम्म रकम उपलब्ध गराउँदै आएको छ । सस्तो र सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिद गर्नेलाई लक्षित गरी घर कर्जा ल्याइएको बैंकले जनाएको छ । उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरूले सहज रुपमा कर्जा सार्न समेत सक्नेछन् ।

बैंकका अनुसार १० वर्षसम्म अवधिका लागि ९.९९ प्रतिशत ब्याजदर, १० देखि १५ वर्षसम्म अवधिका लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउने छन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजातहरु पेश गरेको २ दिनभित्र कर्जा प्रवाह गर्नेछ । ग्राहकहरुले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५६ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यो योजना सिमित अवधिका लागि रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.