अस्ट्रेलियन पर्वतारोही एलीले बिनाअक्सिजन अन्नपूर्ण-१ हिमाल आरोहण गर्ने

  २०८० फागुन २६ गते १३:०६     विकासन्युज

काठमाडौं । अस्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्वगाइड एली पेपरले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छन् । उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू अक्सिजनको प्रयोग नगरी आरोहण गर्ने लक्ष्य रहेको बताइन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १० औँ अग्लो ९८,०९१ मिटर० उचाइको अन्नपूर्ण–१ को आरोहण गर्न लागेको बताइन् । अन्नपूर्ण–१ आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू मध्येको एउटा हिमाल हो । उनी आफ्नो सपना पूरा गर्न तयारीका लागि हाल आफ्नो टिमसहित काठमाडौं आएकी हुन् ।

अन्नपूर्ण–१ को आरोहण उनले हिमाल आरोहण कम्पनी सेभेन समिट ट्रेक्समार्फत गर्न लागेकी जानकारी दिइन् । बिना अक्सिजन हिमाल आरोहण गर्ने यात्राको सुरुवात भने उनले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमालबाट गरेकी थिइन् ।

पेपरले उनको लक्ष्यअन्तर्गत भने हालसम्म विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू मध्ये दुई वटा हिमाल अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो (८,०५२ मिटर) को ब्रोडपिक र विश्वको पाँचौँ अग्लो (८,१६३ मिटर) को मनासलु हिमाल सन् २०२३ को सेप्टेम्बर २८ तारिखमा सफल आरोहण गरी सकेको उनले जानकारी दिइन् । ब्रोडपिक बिना अक्सिजन सफल आरोहण गर्ने उनी पहिलो अस्ट्रेलियाली महिला बनेकी थिइन् ।

यससँगै ४८ वर्षीय पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसलाई जित्न, प्रोत्साहित गर्ने लक्ष्य राखेकी बताइन् । उनले भनिन, ‘मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा नै आफ्नो लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु । मैले मेरो सम्पूर्ण जीवन यसका लागि शारीरिक रूपमा मात्र होइन, मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा तालिम दिएको छु । यही सबै कुराले मलाई यो गर्न प्रेरित गरेको छ ।’

उनको हिमाल आरोहणमा २३ वर्षको अनुभव रहेको छ । यो वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ सहित तीन वटा हिमालहरू आरोहण गर्ने योजना रहेको उनले बताइन् । विश्वमा हालसम्म छ जनाले मात्र अक्सिजन बिना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरू आरोहण गरेका छन् । त्यसमध्ये पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरूको मुख्य चुचुरोमा पुगेका भने दुई जना पुरुष मात्र हुन्, उनीहरूलाई त्यसको लागि १६ वर्ष लागेको थियो ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालअन्तर्गत सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनासलु, नाङ्गा पर्वत, अन्नपूर्ण–१, गाशरब्रम–१, ब्रोडपिक, गाशरब्रम–२, शिशापामा पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.