एक सातापछि बढ्यो सेयर बजार, दुई अर्बमा खुम्चियो कारोबार

  २०८० फागुन १४ गते १५:४६     विकासन्युज

काठमाडौं । निरन्तर एक सातासम्म घटेको सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० बिन्दु पुगेको छ ।

कारोबार खुलेको करिब आधा घण्टामा बढेर ११९७ बिन्दुसम्म पुगेको परिसूचक त्यसपछि ओरालो लागेर १९७३ बिन्दुसम्म झरेको थियो । तर, कारोबारको अन्तिम घडीमा पुनः ह्वात्तै बढेर बजार बन्दा हुँदा परिसूचक १९९२ बिन्दुसम्म पुगेको छ ।

परिसूचक बढेपनि कारोबार रकम भने निरन्तर घट्दो क्रममा छ । अघिल्लो दिन तीन अर्ब बढीको सेयर कारोबार भएको बजारमा सोमबार भने दुई अर्बमा सीमित भएको छ । ३१४ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा कूल २ अर्ब एक करोड ७७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । जसमध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक अर्थात ९ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको कारोबार रकमसँगै सेयर मूल्य पनि ३० रुपैयाँले बढेर प्रतिकित्ता ४३८ रुपैयाँ पुगेको छ ।

बजारमा बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६ हजार २३२ रुपैयाँ पुगेको छ ।

आइतबार नकारात्मक सर्किट लागेको समाज लघुवित्त वित्तीय संस्थाको सेयरमा सोमबार पनि नकारात्मक सर्किट नै लागेको छ । जसको सेयर मूल्य १० प्रतिशत अर्थात १९५.८० रुपैयाँले घटेर प्रतिकित्ता एक हजार ७६२.९० रुपैयाँमा झरेको छ ।

सोमबारको बजारमा फाइनान्स, लघुवित्त र म्युचुअल फण्ड घटेका छन् भने बाँकी समूह बढेर हरिया देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.