म्याद सकिएको औषधी बेच्ने दुईवटा फार्मेसी बन्द, मन्त्री भन्छन्- कारबाही गर्छौं

  २०८० फागुन ३ गते १६:२९     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधी पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधी विभागको संयोजत्वमा बिहीबार गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुर्जेका र दर्ता नभएका औषधी बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘वीर अस्पताल बाहिर रहेको फार्मेसीले म्याद गुर्जेका औषधी बेचेको भेट्यौं । त्यस्तै औषधी महँगोमा बेचेको पाइयो । औषधीलाई राम्रोसँग स्टोर गर्नुपर्नेमा बाहिरै त्रिपालले छोपेर राखेको पाइएपछि यी फार्मेसी पसललाई बन्द गर्ने निर्णय गरी कानुनी कारबाहीका लागि अगाडि बढ्नेछौँ ।’

मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए । उनले भने, ‘अस्पतालको स्टोरमा औषधी राख्ने तर फार्मेसीमा औषधी छैन भनेर बिरामीलाई बाहिरबाट औषधी किन्न लगाउने गरेको भेटिएको छ । यो झन् ठूलो समस्या देखिएको छ ।’

मन्त्री बस्नेतले अस्पतालको पार्किङ क्षेत्रमा रहेको ठाउँमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्नेबारे अस्पतालको व्यवस्थापनसँग छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘शल्यक्रियाका लागि आवश्यक औषधी र महँगा औषधी अस्पतालको फर्मेसीमै पाउने व्यवस्था गर्नका लागि पार्किङमा फार्मेसी निर्माण गर्न छलफल भइरहेको छ ।’

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले निरीक्षणका क्रममा ‘फ्रिज’मा राख्नुपर्ने औषधिलाई बाहिर खुला राखिएको भेटिएको बताए । स्वास्थ्य विभागले नियमन गरिआएका औषधि प्रशस्त मात्रामा भेटिएको समेत महानिर्देशक ढकालले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.