७१ मेगावाटको क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न, आजदेखि परीक्षण गरिने

  २०८० माघ १५ गते ७:१४     विकासन्युज

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।

आयोजनाको प्रवद्र्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले आजदेखि टनेलमा पानी हालेर परीक्षण गरिने जानकारी दिए । उनले भने, “टनेलमा पानी पठाउने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुने भएकाले माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन अनुरोध गरेका छौँ ।”

बाँध, सुरुङ, विद्युत गृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर प्रतिनिधिको रोहवरमा परीक्षणको तयारी गरिएको हो । छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी)मा यसअघि नै पानी हालेर परीक्षण गरिएको थियो । छोटेपादेखि दोभिल्नामा रहेको विद्युत गृहसम्म ४ हजार २७५ मिटर लामो सुरुङ निर्माण भएको छ ।

नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विद्युत्गृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ । नीलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । दुईवटै आयोजनाको विद्युत्गृह परिसरमा स्विचार्ड बनाइएको छ । नीलगिरि पहिलोको स्विचार्डमा गत बर्खामा पहिराले क्षति पुर्याएको थियो ।

१३ अर्ब रुपैयाँ लागत अनुमान गरिएका दुवै आयोजना रन अफ रिभर प्रकृतिका हुन् । नीलिगिरि खोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिन्छ । छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेसन जोड्ने ७.४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ ।

नारच्याङमा यसअघि ५ मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको छ । ९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणको तयारीमा छ ।

कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युत् गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । मिस्त्री खोलाको प्रवद्र्धक माउन्टेन इनर्जी नेपालले १२ मेगावाटको मिस्ट्री खोला–२ आयोजना निर्माण गर्दैछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.