मुहार फेर्दैछन् रुकुमपश्चिमका सडक, आवागमनमा सहज

  २०८० माघ १३ गते ९:३६     विकासन्युज

त्रिवेणी । राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडकखण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन् । सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो ।

राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका-४ सोलावङबाट मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने शीतलपोखरीसम्म सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको बसचालक रिमबहादुर पुनले बताउनुभयो । उक्त सडकखण्डमा सडक चौडा, मोड सुधार र कालोपत्र गरिएको छ ।

‘पहिले सडक साँघुरो थियो, साँघुरो सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुुन्थ्यो, अहिले सडक स्तरोन्नति भएपछि मोडमा पनि सजिलै यातायातका साधन चलाउन सहज भएको छ’, उनले भने ।

राप्ती राजमार्गअन्तर्गत सल्यानको जलेखर्कबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–९ नुवाकोटको झक्ते खोलासम्म १० किलोमिटर, रुकुमपश्चिमको मुसीकोट नगरपालिका-४ सोलावाङबाट शीतलपोखरीसम्म ६ किलोमिटर र सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर सडक स्तरोन्नति भइरहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । तीनवटै ठाउँमा सडक कालोपत्र, मोड सुधार र सडक चौडा बनाउने काम भइरहेको छ ।

राप्ती राजमार्गअन्तर्गत पर्ने सल्यानको जलेखर्कबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-९ नुवाकोटडाँडा झक्ते खोलासम्मको १० किलोमिटर सडक निर्माण गर्न २१ करोड रुपैयाँमा सम्झौता भएको छ । उक्त सडकखण्डको काम २०७८ चैतदेखि सुरु भएको हो । सडकखण्डको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको प्रमुख शर्माले जानकारी दिए । उक्त सडकखण्ड २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।

त्यस्तै राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका–४ सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर सडक कालोपत्रको काम धमाधम भइरहेको छ । विसं २०७९ फागुनदेखि सडक निर्माणको काम सुरु भएको हो । हालसम्म ७० प्रतिशत प्रगति भएको छ । सडकखण्ड स्तरोन्नतिका लागि २१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सदरमुकाम नजिकको मुसीकोट नगरपालिका-४ शीतलपोखरीबाट सोलावाङसम्मको ६ किलोमिटर सडकखण्डको मोड सुधार, सडक चौडा तथा पहिरो खसेको ठाउँमा तारजाली हाल्ने काम जारी छ । उक्त सडकखण्ड निर्माण गर्न छ करोड रुपैयाँमा ठेक्का दिइएको छ । सो सडकखण्डको ५० प्रतिशत प्रगति भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.