मध्यपश्चिम विश्वविद्यालयद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  २०८० मंसिर ७ गते १४:४४     विकासन्युज

सुर्खेत । मंसिर ६ गते मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित २१औं शताब्दीमा विश्वविद्यालयको स्वायत्तता तथा भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्द बहादुर सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कर्णाली प्रदेश तथा जिल्ला स्थित विभिन्न राजनैतिक पार्टीका मूल नेतृत्व एवं प्रतिनिधिहरु वीरेन्द्रनगर नगरपालिकाका पुर्व मेयर, सुर्खेत शिक्षा क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा पुर्व जिसस सभापति अतिथिको रुपमा उपस्थित भएका थिए ।

अन्तरक्रिया कार्यक्रम पुर्व विश्वविद्यालयका पदाधिकारी तथा अतिथि सम्मिलित संयुक्त टोलीले मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय परिसर, ग्र्याजुएट स्कुल अफ इञ्जिनियरिङ्ग (सानो सुर्खेत), ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी, मुसोम, ग्र्याजुएट स्कुल अफ एजुकेशन, ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेस र ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टको भ्रमण तथा पछिल्लो समय भएको विकास र परिवर्तनको अवलोकन गरेका थिए ।

भ्रमण पश्चात औपचारिक रुपमा संचालित अन्तरक्रिया कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायण प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्य पश्चात विश्वविद्यालयका उपकुलपतिद्वारा मध्यपश्चिम विश्वविद्यालयको एकिकृत दुरदृष्टि तथा प्रगति विवरण प्रस्तुत गरेको थियो भने कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको विगत र वर्तमान दर्शाउने ‘मध्यपश्चिम विश्वविद्यालय रूपान्तरण वृतचित्र प्रस्तुत गरिएको थियो ।

उक्त प्रस्तुतीकरण पश्चात विभिन्न राजनैतिक पार्टीका मूल नेतृत्व, नागरिक समाजका अगुवा एवं विशिष्ट व्यक्तित्वहरुले मन्तव्य राखेका थिए भने उनीहरुले विश्वविद्यालयले गरेका विकासका कार्य तथा पछिल्ला सकारात्मक प्रयासहरुको प्रशंसा गरेका थिए । विश्वविद्यालयको स्वायत्तता कायम रहनुपर्ने, सकारात्मक कार्यको सबैले साथ् दिनुपर्ने तथा विश्वविद्यालयमा भईरहेको राजनीतिक हस्तक्षेप र बन्द हड्ताल जस्ता गतिबिधि बन्द हुनुपर्ने कुरामा सम्पूर्ण राजनैतिक पार्टीका मूल नेतृत्व, नागरिक समाजका अगुवा एवं विशिष्ट व्यक्तित्वहरुले मन्तव्यका क्रममा एक स्वरका साथ बोलेका थिए ।

अन्तरक्रिया कार्यक्रमको समापन सत्रमा बोल्दै कार्यक्रमका अध्यक्ष एवं मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्द बहादुर सिंहले अतिथि एवं विशिष्ट व्यक्तित्वहरुलाई कार्यक्रममा सहभागिताका लागि तथा विश्वविद्यालयको स्वायत्तता प्रति एकमतले साथ् समर्थन गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.