तीन वर्षभित्र बंगालमा २ खर्ब भारु लगानी गर्ने मुकेश अम्बानीको घोषणा

  २०८० मंसिर ६ गते १७:१८     विकासन्युज

एजेन्सी । भारतका सर्वाधिक धनाढ्य मुकेश अम्बानीले बंगालमा लगानीबारे ठूलो घोषणा गरेका छन् ।

रिलायन्स इन्डस्ट्रीजले आगामी तीन वर्षमा २ खर्ब रुपैयाँ लगानी गर्ने अम्बानीले घोषणा गरेका हुन् ।

यो लगानी डिजिटल लाइफ सोलुसन, रिटेल (खुद्रा) र बायो इनर्जी (जैविक ऊर्जा) मा गरिने छ । यसबाट बंगालको विकास हुने र यसका लागि आफ्नो कम्पनीले कुनै कसर बाँकी नराख्ने अम्बानीले बताए । उनले कोलकाताको कालिघाट मन्दिर जीर्णोद्धारको घोषणा पनि गरेका छन् ।

अम्बानीले मंगलबार बेङ्गाल ग्लोबल बिजनेस समिटमा २ खर्बबराबर अतिरिक्त लगानीको जानकारी दिएका थिए । ‘हाम्रो योजना आगामी तीन वर्षमा बंगाल राज्यमा डिजिटल लाइफ सोलुसन, रिलायन्स रिटेल फुटप्रिन्ट र बायो इनर्जीका लागि २ खर्ब रुपैयाँ लगानी गर्ने छ,’ उनले भने ।

अम्बानीको कम्पनीले बंगालमा लगानी गरिसकेको छ । रिलायन्स इन्डस्ट्रीजले विगत केही वर्षमा यस राज्यका विभिन्न क्षेत्रमा करिब ४ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ। अम्बानीले बंगालको विकासलाई गति दिन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

पीटीआईका अनुसार अम्बानीले भने कि रिलायन्स फाउन्डेसनले कोलकाताको प्रतिष्ठित कालिघाट मन्दिरको ‘मूल महिमा’ पुनर्स्थापित गर्नका लागि पुनर्विकास गर्नेछन् ।

अम्बानीले भनेका छन्, ‘जियो यस वर्षको अन्त्यसम्ममा विश्वको सबैभन्दा छिटो फाइभजी रोलआउट पूरा गर्न गइरहेको छ र कम्पनीले बंगालको अधिकांश भाग कभर गरेको छ ।’

उनले फाइभजीको क्रान्तिकारी शक्तिलाई राज्यका हरेक कुनासम्म पुर्‍याउने बताए । फाइभजी विशेषगरी गाउँहरूमा रोल आउट भइरहेको छ ।

अम्बानीले जियो फाइबर र एयर फाइबरको द्रुत रोल आउटका साथ पश्चिम बंगालका प्रत्येक घरलाई स्मार्ट घरमा रूपान्तरण गर्ने पनि बताएका छन् । यो परिवर्तनले राज्यका लाखौं मानिसका लागि नयाँ रोजगारी र उद्यमशीलताको अवसर खोल्ने उनको विश्वास छ ।

रिलायन्स रिटेलले राज्यमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ र यसको लगभग १ हजार रिटेल स्टोर अर्को दुई वर्षमा १ हजार २ सयभन्दा बढीमा विस्तार गरिने छ ।

रिलायन्सले आगामी तीन वर्षमा १ सय बायोग्यास (सीबीजी) प्लान्ट स्थापना गर्ने योजना पनि बनाएको छ ।

कृषकका लागि ठूलो मात्रामा ऊर्जा रोपण गर्न पनि सहयोग गर्ने उनले बताए । जसले २० लाख टन कार्बन उत्सर्जन घटाउन र वार्षिक २५ लाख टन जैविक मल उत्पादन गर्न मद्दत गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.