पश्चिम बंगालमा भारतकै ठूलो व्यापार सम्मेलन हुने

  २०८० मंसिर ४ गते ९:१२     विकासन्युज

एजेन्सी । भारत पश्चिम बङ्गालमा केही दिनभित्रै देशकै ठूलो व्यापार सम्मेलन हुने भएको छ । जसमा देशका प्रमुख व्यवसायीसँगै विदेशी व्यवसायीको पनि सहभागिता हुनेछ ।

प्रदेश सरकारका एक वरिष्ठ अधिकारीका अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीसहित आईटीसी, अम्बुजा नेओटिया र हिरानन्दानी समूहजस्ता कम्पनीहरूका शीर्ष उद्योगपतिहरू अर्को साता कोलकातामा हुने ‘बेङ्गाल ग्लोबल बिजनेस समिट’ (बीजीबीएस) मा सहभागी हुने सम्भावना छ ।

अधिकारीका अनुसार अडानी समूहका अध्यक्ष गौतम अडानी दुई दिने शिखर सम्मेलनमा सहभागी हुनेछन् वा छैनन् भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि, समूहका प्रतिनिधिहरूको उपस्थिति रहने छ ।

ती अधिकारीले भने, ‘मुकेश अम्बानी यस वर्षको बीजीबीएसमा सहभागी हुने सम्भावना छ। सञ्जीव गोयन्का, सञ्जीव पुरी, पूर्णेन्दु चट्टोपाध्याय, हर्षवर्द्धन नेओटिया र सज्जन जिन्दलजस्ता अन्य उद्योगपतिहरू उपस्थित हुनेछन् ।’

पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले सेप्टेम्बरमा स्पेन र दुबई भ्रमणका क्रममा धेरै उद्योगीहरूसँग भेटघाट गरेकी थिइन् ।

सूचनाअनुसार यस वर्ष बीजीबीएस २१ र २२ नोभेम्बरमा आयोजना हुँदैछ । सहरको अलिपुर क्षेत्रमा रहेको धनधान्य थिएटरमा समापन समारोह हुनेछ । योसँगै बेलायतले बीजीबीएसको सातौं संस्करणमा अहिलेसम्मकै ठूलो प्रतिनिधिमण्डल ल्याउने छ ।

बेलायती उप–उच्चायोगले कोलकाताको बीजीबीएसमा व्यवसाय तथा संस्थाहरूको ५५ सदस्यीय प्रतिनिधिमण्डल आउने जनाएको छ । भारतका लागि बेलायतका उच्चायुक्त एलेक्स एलिसले भने, ‘म बेङ्गाल ग्लोबल बिजनेस समिटमा बेलायतको सबैभन्दा ठूलो प्रतिनिधिमण्डलको नेतृत्व गर्न तत्पर छु। मलाई आशा छ कि शिखर सम्मेलनले बेलायती व्यवसाय विस्तार गर्न मद्दत गर्ने छ र बङ्गाली कम्पनीहरूले बेलायतमा आफ्नो उपस्थिति बढाउन सक्षम हुनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.