युवराज खतिवडाको त्यो अभिव्यक्ति र वर्तमान अर्थतन्त्रको तस्बिर

  २०८० मंसिर १ गते १४:४४     रूषा थापा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७४ फागुल्न ३ गते प्रधानमन्त्री हुँदा अर्थमन्त्री डा.युवराज खतिवडा भए । त्योभन्दा अघि खतिवडा राष्ट्र बैंकको गर्भनर पनि थिए । गर्भनर हुँदा उनले घरजग्गा, गाडी र सेयरमा लगानी गर्नु जोखिमपूर्ण रहेको भन्दै कर्जा प्रवाहमा कडाइ गरे ।
अर्थमन्त्री बनेपछि उनले खुलेर भनेका थिए, ‘घरजग्गा, गाडी र सेयरमा लगानी गर्नु भनेको जुवा खेल्नु हो ।’ जसरी जुवाले मानिसको सबै सम्पत्ति सकाउँछ त्यसरी नै घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा पनि यही हालत हुन्छ भन्ने उनको भनाइ थियो । तत्कालीन अर्थमन्त्री खतिवडाले यस्तो भनेपछि घरजग्गा, गाडी र सेयर लगानीकर्ताले उनको चर्को विरोध गरे ।

यतिसम्म कि उनको राजीनामा समेत मागियो । घरजग्गा, गाडी र सेयर लगानीकर्ताले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर खतिवडालाई अर्थमन्त्री पदबाट बर्खास्त गर्न माग समेत गरे । खतिवडाले महँगोमा घरजग्गा, गाडी र सेयर किन्दा यसको मूल्यमा गिरावट आएमा धेरै मानिस डुब्न सक्ने र अर्थतन्त्रमै एक किसिमको मन्दी आउन सक्ने चिन्ता व्यक्त गरेका थिए ।

बैंक तथा वित्तिय संस्थालाई समेत आँखा चिम्लेर यो क्षेत्रमा लगानी नगर्न उनले सचेत गराएका थिए । खतिवडाले त्यो बेला भनेको ती कुरा न सर्वसाधारणले पत्याए न बैंक तथा वित्तिय संस्थाले नै टेरे । त्यतिखेर बैंक र सहकारीले घरजग्गाको लालपूर्जा, नक्सा, नागरिकता र फोटो लिएर जानेबित्तिकै जति भन्यो त्यति नै तुरुन्तै ऋण दिने अभ्यास थियो । बजारमा एक करोडमा बिक्री हुने घरजग्गालाई ७० लाखसम्म कर्जादिन बैंकले डराउँदैनथे । चार हजार मूल्य बराबरको एक कित्ता सेयरलाई ३५ सयसम्म कर्जा दिइन्थ्यो । त्यस्तै, २० लाखमा बिक्री हुने सवारीसाधनलाई १५ लाखसम्म कर्जा दिइन्थ्यो ।

वि.स २०७४÷०७५ मा एक महिनाअघि आनाको १५ लाखमा किनिएको जग्गा एक महिनापछि ४० लाखमा बिक्री हुन्थ्यो । सेयरको मूल्य पनि बढेको बढ्यै । एक महिनाअघि कित्ताको दुई हजारमा किनेको सेयर एक महिनापछि तीन हजार पुग्थ्यो । अटो सोरूमहरूले पनि ग्राहकको लर्को लागेपछि गाडीको मूल्य बढाएको बढ्यै गर्थे ।

घरजग्गा, गाडी र सेयर लगानीकर्ताको बैंक तथा वित्तिय संस्थासँग राम्रो सम्बन्ध हुन्थ्यो । उनीहरूकै मिलेमत्तोमा सर्वसाधारण मर्कामा पर्थे । सर्वसाधारण र बैंक तथा वित्तिय संस्थाले मूल्य बढिरहन्छ भनेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । आमनागरिकले आफुसँग भएको रकम खर्च गरेर र आधा रकम बैंकबाट ऋण लिएर यो क्षेत्रमा लगानी गरे ।

बैंक तथा वित्तिय संस्थाले पनि घरजग्गा, गाडी र सेयर भन्नेबित्तिकै जतिपनि कर्जा प्रवाह गरे । डा.खतिवडाले भनेको कुरालाई हचुवाको भरमा लिएर सर्वसाधारण र बैंक तथा वित्तिय संस्थाले यी क्षेत्रमा लगानी गरे । ०४५÷०४६ सालमा आनाको एक हजारमा बिक्री नहुने जग्गा ०७५÷०७६ सालमा ८० लाख रूपैयाँसम्म पुग्यो ।

दुई रूपैयाँ किलोमा बिक्री नहुने फलाम र प्लास्टिकले गाडी बनाएर भारतले नेपाललाई लाखौं रुपैयाँमा बेच्यो । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर १८ सयदेखि ५ हजारसम्ममा बेचियो । घरजग्गा, गाडी र सेयर दलालीहरुको ठगीधन्दा हवात्तै मौलाएको थियो । तर, यो कतिन्जेल टिक्छ भन्ने पनि अधिंकाशमा थियो ।

सेयर दलालीहरुले २५ सय कित्तामा सेयर खरिदबिक्री गर्दा सरकारले सय रुपैयाँ मात्र राजस्व लिन्छ । सरकारले ठाउँअनुसार जग्गाको मूल्य आनाको एक हजारदेखि साढे ६६ लाखसम्म तोकेको छ । काठमाडौंको न्यूरोड, इन्द्रचोक, भोटाहिटीमा सरकारी मूल्यअनुसार जग्गा आनाको साढे ६६ लाख पर्छ । तर, त्यहाँ जग्गा आनाको १३ करोडदेखि १४ करोडसम्ममा खरिदबिक्री हुन्छ । यति धेरै मूल्यमा जग्गा किनबेच भएपनि नामसारी गर्ने समयमा सरकारले साढे ६६ लाख मात्रको राजस्व लिन्छ वा पाउँछ । काठमाडौं उपत्यकाभित्र जग्गाको सरकारी मूल्य लाखमै कायम छ । तर, किनबेच भने करोडमा हुन्छ ।

यता, सरकारले भने तोकिएको मूल्यको मात्र राजस्व उठाउँछ । उदाहरणका लागि यातायात कार्यालय एकान्तकुनामा एउटा ट्याक्सी २५ लाखदेखि ४५ लाखसम्ममा खरिदबिक्री भएको पाइन्छ । तर, त्यही ट्याक्सी नामसारी गर्दा राज्यको ढुकुटीमा भने ८ सय मात्र राजस्व जान्छ । यसरी राज्य राजस्वविहीन भएको छ । बिचौलिया, दलालीहरु भने सर्वसाधारण ठगिरहेका छन् ।

अहिले सर्वसाधारणको आँखा खुल्यो । उनीहरुले घरजग्गा, गाडी र सेयर किन्न छोडेका छन् । योसँगै दलालीहरुको भागाभाग चलेको छ । बैंक तथा वित्तिय संस्थाको लगानी डुबिसकेको संकटमा छ । घरजग्गा, गाडी र सेयर चार दशकअघिकै मूल्यमा फर्किएको छ । बजारमा एक जना पनि यो क्षेत्रमा लगानी गर्न चाँहिरहेको भेटिदैंन । समस्या परेर वा पैसाको खाँचो परेर घरजग्गा, गाडी र सेयर आफुले किनेको आधा मूल्य बिक्री गर्छु भन्दा समेत बिक्दैंन । बजारमा मन्दी आइसकेको छ । सटर, कोठा र फ्रल्याटहरु धमाधम खाली हुन थालेका छन् । व्यापारीहरु पलायन हुदैँ गएका छन् । सहकारी त करोडौं बचतकर्ताको अर्बौं रकम लिएर भाग्न थालेका छन् ।

त्यतिखेर खतिवडाले भनेको कुराको विरोध गर्ने घरजग्गा, गाडी र सेयर लगानीकर्ता अहिले पश्चातापमा छन् । बजारमा पैसाको अभाव छ । बेरोजगारी ह्वात्तै बढेको छ । एकातिर काम पाइन्न, अर्कोतिर काम गरेको ठाउँबाट तलब पाइँदैन । अधिंकाश व्यवसायी समस्यामा छन् । उनीहरुले बैंकको ऋण, घर भाडा तिर्न सकेका छैनन्, श्रमिकलाई महिनौंदेखि तलब दिएका छैनन् ।

वर्तमान सरकारले जग्गाको कित्ताकाट त फुकुवा गर्यो । तर, यसको मूल्य र कारोबार दुवै बढेन । राष्ट्र बैंकले सेयरमा १२ करोडको सीमा हटाएपनि यसको पनि मूल्य र कारोबार दुवै बढेन । दशैं, तिहारमा समेत बजारमा चहलपहल देखिएन । व्यापारीहरु निराश भए । सर्वसाधारण मुलुकको अर्थतन्त्र डुबिसकेको बताउँछन् । श्रींलकाको भन्दा नाजुक अवस्थामा मुलुकको अर्थतन्त्र पुगेको विश्लेषण धेरैको छ । विदेशी ऋण २७ खर्ब पुगिसक्यो । सरकारमाथि ऋणको भार बढ्दै छ । जनताले पनि सरकारलाई कर तिर्न छोडिसके । राज्यको ढुकुटीमा राजस्व संकलन शून्यझैं भइसकेको छ । सरकार न खर्च कटौती गर्छ न कर उठाउन सक्छ । विदेशीसँग ऋण लिन्छ अनि तलबभत्ता र पेन्सन बाँड्छ । हुन त यहाँ अर्थविद्, विज्ञहरु पार्टीगत छन् । तर, तत्कालीन अर्थमन्त्री खतिवडाले भनेको विषय अहिले सही प्रमाणित भएको छ । अहिले सर्वसाधारण महँगी र बेरोजगारीका करण बाँच्न नसक्ने अवस्था आएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.