आर्थिक वर्षको तेस्रो महिनामा आयातमा झिनो वृद्धि, निर्यात भने घट्यो

  २०८० कार्तिक १२ गते १५:०५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात असोजसम्म आउँदा आयातमा सामान्य वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष (आव)को पहिलो ३ महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सो आयात गत आवको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको पहिलो र दोस्रो महिनामा जम्मा २ खर्ब ५९ अर्ब ७४ करोड बराबरको अयाात भएको थियो । तर, पछिल्लो असोज महिनामा मात्रै १ खर्ब ४८ अर्ब बराबरको आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

चालु आवको पहिलो र दोस्रो महिनामा गत आवको सोही अवधिको तुलनामा आयातमा १.५६ प्रतिशत र ५.०६ प्रतिशतले घटेको थियो । पछिल्लो महिनामा आयातमा वृद्धि भएसँगै सरकारले राजस्व आम्दानी समेत बढाएको छ । चालु आवको तीन महिनामा सरकारले भन्सारमार्फत १ खर्ब ९ अर्ब २४ करोड रुपैयाँ महसुल संकलन गरेको छ ।

आयातमा सामान्य सुधार भएपनि निर्यात भने गत आवको तुलनामा घट्न पुगेको छ । विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा २.१६ प्रतिशतले निर्यात घटेर ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँ बराबरको भएको छ । गत आवको सोही अवधिमा नेपालले ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.