मखानको बिक्री त एक/दुई दिनपहिले देखि नै सुरु भएको भङ्गाहा नगरपालिका–५ सीतापुरबजारमा किराना पसल चलाउँदै आउनुभएका नागेन्द्र साह बताए । जिल्लाका बर्दिबास, औरही, सम्सी, सीतापुर, मटिहानी, जलेश्वर, रामगोपालपुर, बलवा, पिपरा र लोहारपट्टीसहितका बजारमा मखान बेच्ने/किन्नेकै भीड लागेको छ । महोत्तरीका मटिहानी र रामगोपालपुर नगरपालिका क्षेत्र मखान उत्पादनका उर्वरक्षेत्र मानिन्छन् ।
पर्वविशेषले आफ्नो उत्पादनले महत्व पाउँदा मखान किसान यो पर्वका बेला खुसी देखिन्छन् । कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीमा विचरण गर्न आउने र साँझपख जुन घरमा दीप प्रज्वलित गरिएको छ, त्यहाँ प्रवेश गर्ने विश्वासले घरघरमै दीप प्रज्वलित गरेर देवीलाई पनि मखान र पानसहितका सामग्रीले पूजाआराधना गरिने मैथिल परम्परा छ । कोजाग्रतमा रातभरि जाग्राम (जागा) बस्नुपर्ने पुरानो विश्वास भएकाले कोजाग्रत दिनका लागि यस क्षेत्रमा नाचगानसहितका मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजन हुन्छन् ।
विभिन्न पर्वमा खास महत्वका फरक/फरक पूजा सामग्री र नैवेद्य चढाउने परम्पराभित्र कोजाग्रतमा भने पान र मखानको महत्व हुने गरेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताए । पान र मखान दुवै सम्पन्नता र सौन्दर्यका प्रतीक मानिन्छन् । त्यसैले कोजाग्रत पर्वमा यिनको महत्व बढेको उनको भनाइ छ ।
कोजाग्रत पर्वमा कहिल्यै पान नखाने व्यक्तिले पनि विधिकै लागि पान खाने गरेका छन् । पान सौन्दर्य र सम्पन्नतासँगै प्रसन्नताको प्रतीक पनि मानिने मैथिल जनविश्वासले पर्वविशेषमा यसको महत्व बढेको ८० वर्षीय प्रेस स्वतन्त्रता सेनानी कुँवरकान्त झाले बताए । रासस