मेरो कार्यकालमा कृषि र स्वास्थ्यमा नसोचेकै उपलब्धि हुन्छ : मेयर शाहीसँगको कुराकानी

  २०८० असोज २३ गते १४:०३     विकासन्युज

काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर हुन् गणेश कुमार शाही । दीर्घकालीन सोच र लक्ष्यलाई प्राप्त गर्ने गरी नगरपालिकाको प्रथम आवधिक नगर विकास योजनाले स्थापित गरेका विषयगत योजनालाई सबल र सफल रूपमा कार्यान्वयन गर्दै अघि बढेका मेयर शाहीले गरेका कामको परिणाम क्रमिक रूपमा आउँदैछ । ‘दिगो विकासका लागी पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगार समृद्ध चामुण्डाबिन्दासैनी नगर निर्माणको मूल आधार’ भन्ने नारासहित अघि बढेका शाही धेरै क्षेत्रमा आफ्नो कार्य अवधिभित्र नसोचेकै उपलब्धि हासिल हुने बताउँछन् । उनै मेयर शाहीसँग नगरले गरेका उपलब्धि, विकास निर्माणको अवस्था, भौतिक पूर्वाधार लगायत विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

नगरपालिकाले कुन-कुन योजनालाई प्राथमिकता दिएर अगाडि बढिरहेको छ ?

नगरपालिकाले विशेष गरी पूर्वाधार विकासतर्फको कामलाई प्राथमिकता दिएको छ । शिक्षा, खानेपानी, स्वास्थ्य, कृषि सडक लगायतको क्षेत्रहरूमा नगरले महत्वका साथ काम गरेको छ । नगरभित्रका स्थानीय आवश्यकता र विकासका काममा नगर सदैव संलग्न छ ।

तपाईं निर्वाचित भएपश्चात् नगरभित्र भएका उपलब्धि के-के हुन् ?

हामीले अप्ठ्यारो परिस्थिती तथा समस्याका बाबजुद पनि नगरभित्र निकै महत्वपूर्ण कामहरू गर्न सफल भएका छौं । नगरको गौरवको योजना अन्तर्गत रहेको खानेपानीको आयोजनालाई गाउँमा पुर्याउने काम हुँदैछ । विकट बस्तीबाट मतदान गर्नको लागि १/२ दिन लगाएर मतदान केन्द्रसम्म आउनु पर्ने अवस्था थियो । आगामी दिनमा यस्तो अवस्था नहोस् भनेर हामीले वडा नम्बर १ मा बुथ केन्द्रको स्थापना गरेका छौं । पालिकाको वडा नम्बर ३ मा प्रहरी चौकीको स्थापना गरी प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छौं ।

विद्यालयका भवनहरू निर्माण गरेका छौं भने सडकको स्तरोन्नती गरी सहज रूपमा यातायात सेवा सबैको पहुँचमा पुर्याउने जमर्को गरिरहेका छौं । नगरका ९ वटै वडामा बिजुलीको पोल गाड्ने लाइनको विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । गर्भवती महिलालाई नगरभित्रका स्वास्थ्य चौकीमा भिडियो एक्स–रे गर्ने व्यवस्था गरेका छौं । विभिन्न दातृ निकायहरूको साझेदारीमा धेरै कामहरू अगाडि बढाएका छौं ।

नगरवासीलाई परिवर्तनको अनुभूति दिलाउने किसिमका काम के-के भए ?

हाम्रो पालिका भौगोलिक रूपमा विकट छ । वृद्ध बा–आमाको समस्यालाई मध्येनजर गर्दै वडामै भत्ता पाउनु व्यवस्था मिलाएका छौं । स्थानीयवासीहरू स्थानीय सरकारप्रति आसावादी र सकारात्मक देखिनु भएको छ । यस्ता धेरै काम भएका छन् ।

रोजगारीको लागि युवाहरू विदेशिने क्रम धेरै नै छ । नगर भित्र रोजगारी सिर्जना गराउने, उत्पादन तथा व्यापार वृद्धि गर्ने काम के–के भएका छन् ?

युवा शक्तिलाई परिचालन गरेर नगरभित्रै रोजगारी सिर्जना गर्नको लागि काम गरिरहेका छौं । नगरले युवालाई सीपमूलक बनाउनका लागि बेला बेलामा तालिम पनि दिँदै आएका छौं । हामीले विशेष गरी सिकर्मी, डकर्मी, पलम्बर, इलेक्ट्रसियन लगायतका तालिम दिँदै आएका छौं । नगर कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नको लागि काम गरिरहेका छौं । कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन नगरले बाख्रा, भैंसी पालन तरकारी खेती सम्बन्धी तालिम तथा सेमिनारको आयोजना भइरहेको छ । यो वर्ष पनि युवा उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू छन् । यस्ता कार्यक्रम निरन्तर चलिरहने छन् ।

तपाईंहरुले युवालाई सीपमूलक तालिम दिइरहेका छौं भन्नु भयो, तर स्थानीय तहले सञ्चालन गरेको यो कार्यक्रम प्रभावकारी नभएको भनिन्छ नि, किन ?

युवासँग सम्बन्धित रहेर पालिकामा मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रम आएको छ । यी कार्यक्रम मातहतमा रहेर स्थानीय तहले पनि रोजगारका कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, ती कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको अवस्था छैन । जस्तो नगरले कुनै युवालाई व्यवसायी बनाउनको लागि अनुदान दिँदै आएको छ भने उसले अनुदान दिएको समयसम्म मात्र काम गर्छ । अनुदान दिन छाडेपछि व्यवसाय नै छाडि दिने परिपाटिको विकास भएको छ । सम्भवतः यो देश भरका पालिकाको समस्या होला । युवा देश वा गाउँमै बसेर उद्यमी बन्ने भन्दा पनि खाडीमा पसिना बगाउन तर्फ बढी लालायित हुन थाले ।

हाम्रो पालिकामा पनि त्यो समस्या छ । संघीय सरकारले युवाहरूलाई व्यवसाय तर्फ आकर्षण गर्ने स्पष्ट नीति नबनाएसम्म पालिकामा रोजगारी सिर्जना गर्न सक्ने अवस्था छैन । किनभने स्थानीय तहहरूको आन्तरिक आम्दानी एकदमै न्यून छ । स्थानीय तह संघ र प्रदेश सरकारले दिएको वित्तीय समानिकरणको अनुदानमा निर्भर छन् । यस्तो अवस्थामा समग्र युवाहरूलाई उत्पादनसँग जोडेर आत्मनिर्भर युवा बनाउनको निमित्त स्थानीय तहले मात्रै धान्न सक्दैन । यसमा प्रदेश र संघ सरकार पनि उत्तिकै जिम्मेवार, जबाफदेही तथा नीति र विधि स्पष्ट बनाउन पनि जरुरी देखिन्छ ।

युवा केन्द्रित कार्यक्रम बनाउनमा स्थानीय तह चुकेको देखिन्छ नी ?

अन्य पालिकामा थाहा भएन । हाम्रो पालिकामा व्यवसायिक खेती गर्नेहरूको लागि अनुदानको व्यवस्थादेखि खेलकुदको माध्यमबाट पनि युवाहरूलाई अगाडि बढाउनको लागि विभिन्न कार्यक्रमहरू गरिरहेका हुन्छौं । युवा जुन काममा लागे पनि युवाहरूको विश्वसनियता जगाउनु पर्ने काम राज्य सँगसँगै स्थानीय तह पनि लाग्नु पर्छ । एक जना युवाले खेलकुदको माध्यमबाट आफ्नो परिवार पाल्न सकिन्छ भनेर त्यसमा लगेको छ भने उसलाई राज्यले त्यहाँ सम्मको विश्वास दिलाउन सक्नु पर्यो । त्यो अवस्था देशमा छैन । स्थानीय सरकार संघीय सरकारको नीतिमा चल्ने हो । त्यसैले बलियो नीतिको पनि आवश्यक देखिन्छ । संघले बनाएको नीतिमा युवालाई आकर्षण गर्नको लागि पर्याप्त आम्दानी छैन । आम्दानी नभएपछि नीति नारा मात्र हुन्छ, व्यवहारिक हुँदैन ।

तपाईंको नगरपालिकालाई आर्थिक रूपमा पनि सबल तथा स्रोत साधन सम्पन्न बनाउन के काम गरिराख्नु भएको छ ?

आर्थिक रूपमा पनि पालिकालाई सम्पन्न बनाउनको लागि थुप्रै कामहरू गरिरहेका छौं । राज्यले तोकेको करको दायरालाई असुल गर्ने क्रममा नगर लागेको छ । त्यसैमा टेकेर हामीले सार्वजनिक जग्गामा अव्यवस्थित घर बनाइ रोक्ने तथा प्राकृतिक पदार्थको उत्खनन् गर्ने गर्नेहरूलाई करको दरमा ल्याउने कार्य गरिरहेका छौं । हामीले राज्यबाट प्राप्त भएको सामाजिक सुरक्षा भत्ता पाउने र जागिर खाने सबै दाजुभाइलाई पनि तिरो तिर्नु पर्ने विषयलाई अनिवार्य गरेका छौं । पालिकाभित्र सञ्चालनमा आएका पसललाई सूचीकरण गर्ने त्यसलाई पान नम्बरमा लिने काम भइरहेको छ ।

स्थानीय तहको अबको आवश्यकता र प्राथमिकता के हो ?

स्थानीय तहले आफ्नो कार्ययोजना बनाउँदा आवधिक योजनालाई सबैभन्दा महत्वपूर्ण तरिकाले अगाडि बढाउनु पर्छ । राज्यले त्यसलाई व्यवस्थित गर्न सकेको छैन । हामीले योजना निर्माण गर्दा दिगो विकासको लक्ष्यलाई कायम राखेर अगाडि बढ्नु पर्नेमा स्थानीय तह बिचल्ली बन्न पुगेका छन् । सीमित स्रोत साधनको बीच पनि स–साना योजनालाई सम्बोधन गर्नु पर्ने अवस्था छ । स्थानीय तह गाउँको चुल्होको सरकार भएकाले एक क्वायल पाइपको पनि एउटा योजना बनाएर लागु गर्नुपर्ने यो हाम्रो बाध्यता भएको छ । सरकारको दीर्घकालीन सोचको योजना अभावको कारण केही समस्या चाहिँ छन् । प्रदेश या संघीय सरकारको लोकसेवाले हामीलाई प्रशस्त मात्रमा कर्मचारी नदिनु लगायत स्थानीय तहको लागि ठूलो चुनौतीको विषय हुन् ।

अन्त्यमा, तपाईंको कार्यकाल सकिनै लाग्दा चामुण्डाबिन्द्रासैनी नगरपालिका कस्तो हुन्छ ?

प्रत्येक घरका बिजुली पुग्छ । विद्युतको समस्या समाधान हुन्छ । खानेपानीको समस्या धेरै हदसम्म न्यूनीकरण हुन्छ । सबै वडा कार्यालयसम्म जाने सडक सकेसम्म पिच गर्ने नभए ग्राभेल हुन्छ । विद्यालय सबैका स्तरोन्नति र पढाईमा गुणस्तर कायम हुनेछ । कृषि र स्वास्थ्यमा नसोचेकै उपलब्धि हासिल गर्ने छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.