संकटमा परेको गतिशील सहकारीसँग १० जिल्लाको ९२ ठाउँमा जग्गा, सञ्चालकहरु नै अवैध !

  २०८० भदौ १७ गते १३:०५     सीआर भण्डारी

काठमाडौं । बचतकर्तालाई बचत फिर्ता गर्न नसकेर समस्यामा परेको गतिशील बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकमलाई दुरुपयोग गरेर घरजग्गामा लगानी गरेको देखिएको छ । सहकारीले बचतकर्ताको रकमलाई विभिन्न जिल्लामा घरजग्गा किनेको देखिएको हो । संस्थाले हालै मात्र सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख भएअनुसार विभिन्न १० जिल्लाको ९२ वटा ठाउँमा सहकारीको जग्गा देखिएको छ ।

श्वेतपत्रमा संस्थाको वित्तीय विवरण भने सार्वजनिक गरेको छ । सहकारी विभागले प्रत्येक महिना वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएपनि गतिशिल सहकारीले भने २०७९ को असार यता कुनै तथ्यांक सार्वजनिक गरेको छैन ।

श्वेतपत्रमा सहकारीको सम्पत्ति मात्रै उल्लेख छ । श्वेतपत्रमा काठमाडौंमा दुई ठाउँमा, ललितपुर २० ठाउँमा, काभ्रेमा ५३ ठाउँमा, चितवन तीन ठाउँमा र मकवानपुर एक ठाउँमा जग्गा रहेको उल्लेख छ । सहकारीको बारा चार ठाउँमा, पर्साको दुई ठाउँमा, सर्लाही एक ठाउँमा, रौतहट एक ठाउँमा र झापाको चार ठाउँमा जग्गा रहेको देखिएको छ ।

सहकारीले ती जग्गाको मूल्यांकन भने सार्वजनिक गरेको छैन । श्वेतपत्रमा सहकारीले फिर्ता गर्नु पर्ने निक्षेपको परिमाण पनि राखेको छैन । यस विषयमा बुझ्न खोज्दा सहकारीका पदाधिकारीहरुसँग सम्पर्क हुन सकेन ।

सहकारीका एक बचतकर्ताले आफुहरुले विगत एक वर्षदेखि सावाँ ब्याज फिर्ता पाउन नसकेको बताए । उनका अनुसार सहकारीले नियमित कार्यालय खोल्ने भएपनि बचतकर्तालाई पैसा नभएको भन्दै फिर्ता पठाउने गरेको छ ।

गत असारसम्मको तथ्यांक अनुसार यस सहकारीको कुल सेयर पुँजी ९ करोड २८ लाख ४४ हजार रुपैयाँ छ । संस्थाको कुल पुँजी भने १८ करोड ४४ लाख ९३ हजार रहेको देखिएको छ ।

संस्थाको कुल पुँजी तथा दायित्व भने २ अर्ब ७६ करोड ४ लाख ९ हजार रुपैयाँ छ । संस्थामा बचतकर्ताको कुल २ अर्ब २६ करोड ५७ लाख ३ हजार रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सहकारीले सवा २ अर्ब रुपैयाँ लगानी गरेको छ ।

ग्त वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार सहकारीमा ५.८३ प्रतिशत मात्रै तरलता अनुपात छ । तर, त्यो अहिले घटेको छ । यो सहकारीले अधिकांश लगानी व्यापारमा गरेको देखिएको छ । सहकारीले व्यापारिक कर्जामा १ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ भने गाडीमा ६८ लाख ५८ हजार, मुद्दति रसिद धितो कर्जामा ३ करोड ५१ लाख २ हजार र कर्मचारीलाई ७ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको प्रतिवदेनले देखाउँछ ।

सञ्चालक समिति नै अवैध ! 

गतिशील सहकारी संस्थाको कार्यसमिति नै अवैध रहेको शंका पनि गरिएको छ । सो सहकारीको सञ्चालक समितिमा हाल रहेका पदाधिकारीहरु कुनै साधारणसभा नगरेर राखिएको बुझिएको छ ।

पूर्व अध्यक्ष बलराम पाठकले अध्यक्ष को जिम्मेवारी छाडेपछि उनले उपाध्यक्ष विकास कुमार थापालाई कार्य वाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । उनले कार्यवाहक अध्यक्ष हुँदै हाल पूर्ण रुपमा अध्यक्षको जिम्मेवारीमा काम गरिरहेका छन् ।

थापाको नेतृत्वमा हाल उपाध्यक्षमा खे नेपाल, कोषाध्यक्षमा राजेशकुमार हुमागाईं, सचिवमा सौगात प्रसाद दाहाल, सदस्यमा राधा श्रेष्ठ र विनय आमात्य छन् । यो कार्यसमिति साधारणसभा नै नगरेर गठन गरिएको बुझिएको छ ।

बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलयले पनि नयाँ कार्य समितिको तथ्यांक मन्त्रालयमा नरहेको बताएको छ । मन्त्रालयले यसअघिका अध्यक्ष बलराम पाठकको नेतृत्वको समितिको मात्रै मन्त्रालयमा रेकर्ड रहेको बताएको छ । पाठक नेतृत्वको समितिको उपाध्यक्षमा विकास थापा, सचिवमा रामशंकर श्रेष्ठ, कोषाध्यक्षमा शोभा शाक्य र सदस्यमा पुष्पराज शाक्य थिए ।

सम्बन्धित सामग्री : गतिशील सहकारीले बचतकर्ताको ५ हजार पनि फिर्ता गर्न सकेन, ८६ रोपनी जग्गा बेच्दै

गतिशील सहकारीलाई संकटग्रस्त घोषणा गर्न माग, बचतकर्ताले एक वर्षदेखि पाएनन् पैसा

सहकारी डुबाएर सरकारी बैंकको अध्यक्ष, स्वामित्व बिनै नेतृत्वको लाभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.