गतिशील सहकारीलाई संकटग्रस्त घोषणा गर्न माग, बचतकर्ताले एक वर्षदेखि पाएनन् पैसा

  २०८० भदौ १४ गते १५:०८     सीआर भण्डारी

काठमाडौं । गत असार १० गते ललितपुरको लगनखेलमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरु सहकारीले बचत फिर्ता नगरेको भन्दै जिल्ला प्रकाशन कार्यालय ललितपुर पुगे । आफुहरुले पटक–पटक बचत फिर्ता माग्दा पनि सहकारीले नदिएको र २०७९ को साउनदेखि सावाँ ब्याज नै दिन छोडेको भन्दै ४८ जना बचतकर्ताको हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालयमा उजुरी पर्यो । सो सहकारीलाई तत्काल कारवाही गरेर आफुहरुको रकम फिर्ता गराउनका लागि पहल गरिदिन बचतकर्ताले आग्रह गरे ।

बचतकर्ताको उजुरी आए लगत्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले सञ्चालकहरुलाई असार ११ गते महानगरमै बोलायो । प्रशासन कार्यालयले आफ्नो रोहबरमा सञ्चालक र बचतकर्ताको बैठक राख्यो । सो बैठकमा ६ वटा निर्णय भए । पहिलो निर्णय थियो–१० दिनभित्र गतिशील सहकारी संस्थाले श्वेतपत्र जारी गर्ने । सहकारीले महानगरले भनेजस्तै श्वेतपत्र पनि जारी गर्यो । तर, सो बचतकर्ता भन्छन्, ‘नाम मात्रैको श्वेतपत्र जारी गरियो, श्वेतपत्रमा हुनुपर्ने विषयहरु सो श्वेतपत्रमा छैन, बचतकर्तालाई नदिएर गोप्य राखियो ।’

महानगरमा बसेको बैठकको दोस्रो निर्णय थियो, ‘सहकारीका अध्यक्षले सातदिनभित्र विभिन्न पक्षहरु समेटी ऋण असुली समिति गठन गर्ने । तेस्रो निर्णय निर्णय थियो, ‘सहकारीले एक महिनाभित्र धितो लिलामको प्रक्रिया सुरु गरी सूचना जारी गर्ने, चौथो निर्णय थियो,– असुली हुन आएको रकम सदस्य बचतकर्तालाई दामासाहीले क्रमशः फिर्ता गर्दै जाने, पाँचौं निर्णय थियो, – आगामी तीन महिना भित्र विशेष साधारणसभा सम्पन्न गर्ने र पाँचौं निर्णय थियो, –माथिका सबै निर्णय कार्यान्वयन नभए कारवाहीका लागि बागमती रजिष्ट्रारको कार्यालयमा पठाउने ।

तर, सहकारीले नाम मात्रैको श्वेतपत्र जारी गर्ने बाहेकको काम गरेन । बरु, बठ्याईं गरेर कार्यालय सञ्चालन गरिरह्यो र पैसा नभएको भन्दै बचतकर्तालाई रित्तै हात घर फिर्ता पठाइरह्यो । यो शिलसिला अहिले पनि जारी छ ।

गतिशील बचत तथा ऋण सहकारी संस्थाले असार ११ गते बसेको बैठकको निर्णय कार्यान्वयन नगरेको भन्दै साउन ११ गते बचतकर्ताले पुनः जिल्ला प्रशासनमा निवदेन दिए । उनीहरुले सहकारीका बचतकर्ताका अध्यक्ष विकास बहादुर थापा, पूर्व अध्यक्ष बलराम पाठक, उपाध्यक्ष खेम नेपाल, कोषाध्यक्ष राजेश कुमार हुमागाईं, सचिव सौगात प्रसाद दहाल, सदस्यहरु राधादेवि श्रेष्ठ र विनय आमात्य, व्यवस्थापक बिणाकुमारी अमात्य र ऋण अधिकृत ध्रुब गौतमलाई कारवाही गर्न भन्दै पुनः उजुरी दिए ।

जिल्ला प्रशासन कार्यालयले पनि सो सहकारीलाई कारवाही अगाडि बढाउन आग्रह गर्दै साउन १५ गते बागमती प्रदेशको पर्यटन उद्योग तथा सहकारीलाई मन्त्रालयलाई निवेदन पठायो । बागमती प्रदेशको सहकारी मन्त्रालयले पनि साउन २१ गते पत्र लेख्दै बचतकर्ता बचत फिर्ता गर्न आग्रह गर्यो । सहकारी मन्त्रायले गतिशील सहकारीलाई पत्र लेख्दै भन्यो, ‘त्यस संस्थाका ४८ जना सदस्यले बचत फिर्ता नपाएको भन्दै सञ्चालक विरुद्द उजुरी दिएका छन्, के कति कारणले हालसम्म बचतकर्ताको बचत फिर्ता नगरेको हो, सोको प्रतिवाद गर्ने कुनै आधार र प्रमाण भए सो समेतको संलग्न गरी १५ दिनभित्र सञ्चालक समितिको आधिकारिक निर्णयसहित संस्थाका अध्यक्ष, सचिव र उपाध्यक्ष स्वयम् उपस्थित भई लिखित जवाफ पेश गर्नु । तोकिएको दिनभित्र प्रयाप्त प्रमाणसहित पेश नगरेमा वा समस्या समाधान नगरेमा प्रचलित सहकारी कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने ।’

मन्त्रालयले रकम फिर्ता गर्ने कार्ययोजना समेत पेश गर्न आग्रह गरेको थियो । तर, सो सहकारीका सञ्चालकहरुले स–सानो रकम फिर्ता गरेको स्टेटमेन्ट पेस गरेको बुझिएको छ । मन्त्रालय स्रोतका अनुसार बचतकर्तालाई दुई÷तीन हजार रकम फिर्ता गरेको स्टेटमेन्ट लिएर सञ्चालक मन्त्रालय पुगेका थिए ।

‘हामीले रकम फिर्ता गर्ने कार्ययोजना माग गरेका थियौं, तर कुनै कार्ययोजना आएन, सहकारीको कार्यालय नियमित खोल्ने तर बचतकर्ताको बचत फिर्ता नदिने फट्याईं गरेको सुनिएको छ, यो गलत हो, अब हामी आवश्यक कानुनी कारवाही अगाडि बढाउँछौं,’ मन्त्रालय स्रोतले भन्यो ।

सो सहकारीले लामो समयदेखि बचतकर्ताको बचत फिर्ता गर्न सकेको छैन । सहकारी विभागले प्रत्येक महिना वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएपनि गतिशिल सहकारीले भने गत एक वर्ष यता कुनै तथ्यांक सार्वजनिक गरेको छैन । गत वर्षको असारसम्मको तथ्यांक अनुसार यस सहकारीको कुल सेयर पुँजी ९ करोड २८ लाख ४४ हजार रुपैयाँ छ । संस्थाको कुल पुँजी भने १८ करोड ४४ लाख ९३ हजार रहेको देखिएको छ ।

संस्थाको कुल पुँजी तथा दायित्व भने २ अर्ब ७६ करोड ४ लाख ९ हजार रुपैयाँ छ । संस्थामा बचतकर्ताको कुल २ अर्ब २६ करोड ५७ लाख ३ हजार रुपैयाँ निक्षेप छ । गत वर्षको असार मसान्तसम्म सहकारीले सवा २ अर्ब रुपैयाँ लगानी गरेको छ ।

असार मसान्तसम्मको तथ्यांक अनुसार सहकारीमा ५.८३ प्रतिशत मात्रै तरलता अनुपात छ । यो अनुपात अहिले झन घटेको छ । यो सहकारीले अधिकांश लगानी घरजग्गामा गर्दा समस्यामा परेको हो ।

सहकारीले व्यापारिक कर्जामा १ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ भने गाडीमा ६८ लाख ५८ हजार, मुद्दति रसिद धितो कर्जामा ३ करोड ५१ लाख २ हजार र कर्मचारीलाई ७ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको प्रतिवदेनले देखाउँछ ।

लामो समयदेखि बचत फिर्ता नपाएपछि बचतकर्ताले उक्त सहकारीलाई संकटग्रस्त घोषणा गर्न माग गरेका छन् । मन्त्रालयले पनि त्यसका लागि तयारी भइरहेको बताएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष बलराम पाठककै कारण सो सहकारी समस्यामा परेको बुझिएको छ । माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री रहेको बेला उनी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनेका थिए । उनले त्यतिखेर विकास थापालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिँदै उनी बैंकको अध्यक्ष बनेका थिए । अहिले पनि उनी अप्रत्यक्ष रुपमा सहकारीको काम गरिरहेका छन् ।

सम्बन्धित सामग्री : 

गतिशील सहकारीले बचतकर्ताको ५ हजार पनि फिर्ता गर्न सकेन, ८६ रोपनी जग्गा बेच्दै

सहकारी डुबाएर सरकारी बैंकको अध्यक्ष, स्वामित्व बिनै नेतृत्वको लाभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.