मर्जरमा गएका बीमा कम्पनीको पफर्मेन्स : कुन सूचकमा को बलियो ?

  २०८० भदौ ३ गते १०:०७     विकासन्युज

काठमाडौं । पछिल्लो एक वर्षमा १२ वटा निर्जीवन बीमा कम्पनी मर्जरमा सामेल भए ।

नेपाल बीमा प्राधिकरणको पुँजी वृद्धिको निर्देशन अनुसार मर्जरको विकल्प रोजेका १२ वटा निर्जीवन बीमा कम्पनी ६ वटामा सीमित भए । नेपालमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको संख्या २० वटाबाट झरेर १४ वटा कायम भएकाे छ ।

साविकको सगरमाथा र लुम्बिनी जनरल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स), हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स (हिमालयन एभरेष्ट), सिद्धार्थ र प्रिमियमर (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स), आईएमई जनरल र प्रुडेन्सियल (आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स), सानिमा जनरल र जनरल इन्स्योरेन्स (सानिमा जीआईसी), यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स (यूनाइटेड अजोड इन्स्योरेन्स) मर्जरमा सामेल भए ।

यी कम्पनी सबैले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उक्त विवरण अनुसार, मर्जरमा गएका बीमा कम्पनीले कस्तो प्रगति गरे ? कति नाफा कमाए ? कति व्यवसाय गरे ? यस विषयमा तुलनात्मक विश्लेषण गर्न थालिएको छ ।

मर्जरबाट बनेका आधा दर्जन बीमा कम्पनीलाई विभिन्न ११ वटा सूचकमा दाँजेर हेर्दा अधिकांश सूचकमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) अग्रस्थानमा देखिन्छ । ११ वटा सूचकमध्ये सलिकाेको जगेडा, महाविपत्ति कोष, व्यवस्थापन खर्च, खुद नाफा, खुद बीमा शुल्क र कूल बीमा शुल्क गरी ६ वटा सूचकमा अगाडि छ ।

चुक्ता पुँजीमा आईजीआई प्रुडेन्सियल अगाडि

मर्जरबाट बनेका ६ कम्पनीमध्ये आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सबैभन्दा बढी चुक्ता पुँजी छ । इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब २ करोड भन्दा बढी छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । त्यस्तै, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, सलिकोको २ अर्ब ६२ करोड, हिमालयन एभरेष्टको २ अर्ब ३० करोड, सानिमा जीआईसीका २ अर्ब र युनाइटेड इन्स्योरेन्सको १ अर्ब ९० करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । हिमालयन एभरेष्ट, सानिमा जीआईसी र युनाईटेड अजोड इन्स्योरेन्सले मर्जरमा गएर पनि प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन सकेका छैनन् । यी कम्पनीलाई हकप्रद मार्फत पुँजी पुर्याउन दिने प्राधिकरणको भनाई छ । सबैभन्दा कम पुँजी युनाइटेड अजोडको छ ।

जगेडा कोषमा सलिको बलियो

जगेडा कोषको आधारमा सलिको अन्य ५ कम्पनीभन्दा बलियो छ । सलिकोको जगेडा कोषमा ९१ करोड ३२ लाख रुपैयाँ सञ्चिती हुँदा सानिमा जीआईसीको जगेडामा सबैभन्दा कम अर्थात ३२ करोड ९४ लाख रुपैयाँ सञ्चिती छ । सलिकोपछि जगेडाको कोष बलियो हुनेमा क्रमशः सिद्धार्थ प्रिमियर, हिमालयन एभरेष्ट, यूनाइटेड अजोड र आईजीआई प्रुडेन्सियल रहेका छन् ।

बीमा कोषमा सिद्धार्थ प्रिमियरलाई पछ्याउँदै सलिको
बीमा कोषको आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अगाडि छ । इन्स्योरेन्सको उक्त कोषमा २ अर्ब ५० करोड रुपैयाँ सञ्चिति छ । सिद्धार्थ प्रिमियरपछि सगरमाथा लुम्बिनीको बीमा कोषमा २ अर्ब २८ करोड रुपैयाँ छ । ६ कम्पनीमध्ये सानिमा जीआईसीको यो कोषमा सबैभन्दा कम रकम सञ्चित छ ।

महाविपत्ति कोषमा पनि सलिकोकै धेरै

महाविपत्ति कोषमा रहेको रकमको आधारमा पनि सगरमाथा लुम्बिनी इन्स्योरेन्स बलियो देखिएको छ । उक्त कोषमा इन्स्योरेन्सको १८ करोड ४५ लाख रुपैयाँ सञ्चित छ । सबैभन्दा कम रकम हुनेमा युनाइटेड इन्स्योरेन्स छ ।

व्यवस्थापन खर्च
व्यवस्थापनमा सबैभन्दा बढी रकम खर्चिनेमा सलिको नै अगाडि छ । इन्स्योरेन्सले एक वर्षको आवधिमा ४ करोड ९० लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ । यो शीर्षकमा सबैभन्दा कम खर्च गर्नेमा यूनाइटेड अजोड छ । जसले एक वर्षमा ३ करोड २७ लाख २२ हजार रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ ।

खुद नाफामा को अगाडि ?
खुद नाफाको आधारमा पनि सलिको इन्स्योरेन्स नै अग्रस्थानमा छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसपछि हिमालयन एभरेष्ट, सिद्धार्थ प्रिमियर, सानिमा जीआईसी, आईजीआई प्रुडेन्सियल र यूनाइटेड अजोड क्रमशः रहेका छन् । यी ६ कम्पनीमध्ये यूनाइटेड अजोडको खुद नाफा अन्यकोभन्दा कम छ ।

व्यवसायमा हिमालयन एभरेष्ट र सिद्धार्थ प्रिमियरबीच प्रतिस्पर्धा
व्यवसाय अर्थात खुद बीमाशुल्क आर्जनमा ६ कम्पनीमध्ये हिमालयन एभरेष्ट र सिद्धार्थ प्रिमियरबीच प्रतिस्पर्धा देखिएको छ । हिमालयन एभरेष्टले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गर्दा सिद्धार्थ प्रिमियरले १ अर्ब १४ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । तर सबैभन्दा बढी खुद बीमाशुल्क संकलन गर्नेमा सलिको र कम संकलन गर्नेमा यूनाइटेड अजोड नै रहेका छन् ।

पुनर्बीमा कमिशनमा सिद्धार्थ प्रिमियरले अग्रस्थानमा
पुनर्बीमा कमिशनको आधारमा सिद्धार्थ प्रिमियरले सबैभन्दा बढी कमाएको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ४५ करोड ३७ लाख रुपैयाँ पुनर्बीमा कमिशनबाट कमाएको हो । सबैभन्दा कम कमिशन आर्जन गर्नेमा यूनाईटेड अजोड इन्स्योरेन्स छ ।

कूल बीमाशुल्कमा को अगाडि ?
बीमाशुल्क संकलन गर्ने अर्थात प्रिमियम उठाउनेमा पनि सलिको अग्रस्थानमा छ । इन्स्योरेन्सले हालसम्म ३ अर्ब ४१ करोड ८५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, हिमालयन एभरेष्टले ३ अर्ब ३५ करोड ३९ लाख, सिद्धार्थ प्रिमियरले २ अर्ब ७८ करोड ४३ लाख, आईजीआई प्रुडेन्सियलले २ अर्ब १९ करोड ९० लाख रुपैयाँ संकलन गर्दा सानिमा जीआईसीले २ अर्ब ६ करोड ८९ लाख र यूनाईटेड अजोडले १ अर्ब ६३ करोड ९८ लाख रुपैयाँ संकलन गरेका छन् ।

हिमालयन एभरेष्टले बिक्री गर्यो सबैभन्दा बढी पोलिसी
सबैभन्दा बढी बीमापोलिसी बिक्री गर्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स छ । सबैभन्दा पहिला मर्ज भएको कम्पनीले हालसम्म २ लाख ११ हजार ९१२ वटा बीमापोलिसी बिक्री गरिसकेको छ । हिमालयन एभरेष्टपछि सबैभन्दा बढी पोलिसी बिक्री गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यूनाइटेड अजोडले भने सबैभन्दा कम अर्थात कूल १ लाख २६ हजार २७४ वटा बीमापोलिसी जारी गरेको छ ।

सबैभन्दा बढी भुक्तानी गर्नेमा सिद्धार्थ प्रिमियर अगाडि
६ कम्पनीमध्ये सिद्धार्थ प्रिमियरले सबैभन्दा बढी दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले बीमितहरुलाई हालसम्म २ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । सबैभन्दा कम दावी भुक्तानी गर्नेमा पनि यूनाइटेड अजोड नै छ ।

मर्जरपछि कम्पनीहरुबीच स्वस्थ प्रतिस्पर्धा हुने र सिनर्जी आउने भन्दै कम्पनीहरु एक आपसमा मर्जरमा गएका हुन् । बीमा प्राधिकरणले पनि पुँजी वृद्धिको लागि मर्जरलाई नै जोड गरेसँगै अधिकांश कम्पनीहरु मर्जरमा गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.