अस्पतालको जग्गा बाँडेर सकिएपछि सडकमा पार्किङ

  २०८० साउन २४ गते ७:०६     विकासन्युज

काठमाडौं । सरकारी भरतपुर अस्पतालको जग्गा बाँडेर सकिएपछि पार्किङ अभाव भएको छ । अस्पतालको जग्गामा पार्किङ साँघुरो भएपछि सडकमा पार्किङ गर्न थालिएको हो ।

भरतपुर अस्पतालको ३० बिघा ११ कट्ठा ६ धुर जग्गामध्ये अहिले अस्पतालसँग १२ बिघा मात्रै बाँकी छ । अस्पतालबाहिर झण्डै ५ सय मिटर लामो सडकमा मोटरसाइकल र गाडी पार्किङ गर्ने गरिएको छ । यसबाट दिनभर अस्पताल अगाडिको सडक क्षेत्रमा भीडभाड हुने गरेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पताल परिसरमा ठाउँ अभावका कारण पार्किङ व्यवस्थापन गर्न नसकिएको बताए । अस्पतालको पूर्वतर्फ भने बाइपास सडकसँगैको भागमा अस्पतालको जग्गा खाली रहेको छ । पौडेलले पार्किङका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराएर छलफल भइरहेको बताए ।

उनले भने, “अस्पतालको जग्गा बाँडेर र भाडामा लगाएर सकिएकाले पार्किङको समस्या भएको हो ।”

कर्मचारीबाहेक अन्यलाई अस्पतालले पार्किङको व्यवस्था गर्नसकेको छैन । भर्ना भएका बिरामी कुरुवाको पार्किङ भने पूर्ववत् अवस्थामा सञ्चालनमा छ । गएको आइतबार बहिरङ्ग सेवा लिन २ हजार १७५ जना आएका थिए । अघिल्लो आइतबार यो सङ्ख्या २ हजार २८९ थियो । बिरामीसँगै अन्य साथीसमेत आउने भएकाले अस्पतालमा भीड बढ्ने गर्दछ । बीमाको प्रथम विन्दु भरतपुर अस्पताल भएकाले बिरामीको चाप बढ्दो छ ।

भरतपुर अस्पतालको जग्गा कलेज अफ मेडिकल साइन्सेसलाई भाडामा लगाइएको छ । यसैगरी स्कुल अफ हेल्थ साइन्स, नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसञ्चार कार्यालय, स्वास्थ्य कार्यालय चितवन, नगर टोल विकास संस्थालाई प्रयोगका लागि दिइएको छ । साझा औषधि पसलले पनि जग्गा उपभोग गरेको छ ।

अस्पतालकै नाममा लालपुर्जा भएको जग्गा भरतपुर आँखा अस्पतालले समेत प्रयोग गरेको छ । आँखा अस्पतालले मन्त्रिपरिषद्बाट निर्णय भएकाले सो जग्गाको लालपुर्जा पाउनुपर्ने माग गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.