काठमाडौंमा ट्राफिक जाम कम, आर्थिक मन्दी र विदेश पलायन मुख्य कारण

  २०८० असार १३ गते ९:१३     राजिव न्याैपाने

काठमाडौं । सडकमा अत्याधिक सवारीको चाप हुने सहर हो ‘काठमाडौं’ । यस सहरमा बसोबास गर्ने प्रायः प्रत्येक नागरिक साना-ठूला सवारी साधन प्रयोग गर्छन् । देशको राजधानी समेत रहेको काठमाडौंमा सवारी साधनको प्रयोगकर्ता दिन प्रतिदिन बढ्दो छ भने सावारी साधन दिन प्रतिदिन थपिँदै गएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार  २०८० को जेठसम्ममा साना/ठूला दुई तथा चार पाँग्रे सवारी करिव २ करोड ४५ लाख ९२ हजार १४५ वटा सवारी आयात भएको देखिन्छ । सबैभन्दा बढी सवारी गुड्ने शहर काठमाडाैं नै हाे ।

कार्यालय समयमा हमेशा काठमाडौंमा जाम हुन्छ नै । बेलाबखत हुने साँस्कृतिक कार्यक्रम तथा मेला महोत्सव, विभिन्न राजनीतिक दल तथा दबाब समूहले गर्ने आन्दोलन, प्रदर्शनी, राष्ट्रप्रमुखको सवारी कार्यक्रम हुँदा त राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ । परिणाम यात्रुहरू समयमा गन्तव्यमा पुग्न सक्दैनन् ।

तर, पछिल्लाे समय तपाईंको दैनिकीमा केही फरक अनुभूति भएको हुन सक्छ । पछिल्लो समय काठमाडौंमा धेरै हदसम्म जाम कम हुन थालेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले काठमाडौंमा पहिलो तुलनामा अहिले ट्राफिक जाम कम हुन थालेको बताए ।

उनका अनुसार सडकमा सवारीको चापमा पनि कमी आएको छ । ‘सडकमा सवारीको फ्लो धेरै छैन । जाम त हुन्छ तर धेरै कम छ’ उनले भने ।

काठमाडौं महानगरभित्र सडकमा पार्किङ गर्न, सडक व्यापार तथा फुटपाथ व्यापारमा गर्न नपाउने व्यवस्था भएसँगै त्यसको सकारात्मक प्रभाव परेको छ । महानगरले सार्वजनिक जग्गा मिचेर बनाएको भौतिक संरचना भत्काएर खाली गरेको, फुटपाथमा अवरोध हुने गरी बनेको संरचना हटाएको कारण पनि सडक खुला र फराकिलो बनाए पछि सडक सवारी सहज भएकाे काठमाडौं महानगरकाे दावी छ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले सडकमा हुने अव्यवस्थित पार्किङ हटाएपछि काठमाडौंमा ट्राफिक जाम कम भएको सुनाए । उनका अनुसार काठमाडौं भित्र महानगरले १ हजार २० ठाउँमा सडक अतिक्रमण नियन्त्रण भएको छ । १६ हजार ५७० वटा अनधिकृत संरचना हटाएको पनि पाण्डेले बताए ।

‘काठमाडौंभित्र पहिला फुटपाथमा व्यापार गर्ने जुन प्रवृति थियो, त्यसले पनि ट्राफिक समस्या निम्त्याएको थियो, अहिले महानगरले फुटपाथ व्यापार हटाएपछि ट्राफिक समस्यामा कमी आएको हो,’ उनले भने ।

महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा  ट्राफिक ५ मिनेट चाँडो भएको बताएका छन् । ‘ट्राफिकको रिपोर्टको आधारमा यहि कडाइको कारणले गर्दा काठमाडौको ट्राफिक ५ मिनेट चाडो भएको छ,’ उनले भने ।

पछिल्लो समय राजनीतिक दल तथा दबाब समूहले सडकमा विरोध प्रदर्शन गर्ने, धर्ना दिने, र्याली कार्यक्रम आयोजना गर्ने क्रम पनि घटेको छ । अधिकांश विरोधका कार्यक्रम माइतीघर मण्डला र रत्नपार्क वाटिकामा हुने गरेको छ । त्यसले गर्दा पनि ट्राफिक जामको समस्या कम भएको प्रहरीको भनाई छ । ‘सडकमा कार्यक्रममा नहुँदा सवारी आफ्नो गतिमा चलिरहन्छ । सडकमा जाम हुन्न’, ट्राफिक प्रहरी प्रवक्ता भट्टले भने ।

काठमाडौं उपत्यकामा हुने सांस्कृतिक पर्व, विवाह जस्ता बढी मानिस भेला हुने कार्यक्रमहरूको कारण बेला बेलामा जाम हुने गरेको पनि उनले सुनाए ।

जनसंख्या नै घट्दै

पढाई र रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन उच्च दरमा हुन थालेपछि काठमाडौंको जनघनत्व नै कम भएको अनुमान पनि हुन थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक रोजगारीको लागि ६ लाख ६० हजार २५५ जनाले श्रम स्वीकृति लिएका छन् । शिक्षा मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ९२ हजार १४१ जना विद्यार्थी बिदेसिएका छन् । १० महिनामा ७ लाख ५२ हजार नेपालीले देश छोडेका छन् ।

कन्ट्री मिटरका अनुसार नेपालमा दैनिक १ हजार ७२२ जना जन्मन्छन् । दैनिक ५३२ जनाको मृत्यु हुन्छ । सरकारी निकायका रिपोर्ट अनुसार दैनिक २ हजार ५०० भन्दा बढी मानिस बिदेसिएका छन् । यसरी हेर्दा नेपालको जनसंख्या घट्दै गएको छ । राजधानीमा त्यसको स्वाभाविक प्रभाव परेको हुन सक्ने समाजशास्त्रीहरु बताउँछन् ।

आर्थिक मन्दीका कारण पनि राजधानीको जनसंख्या घटेको हुनसक्ने बताइएको छ । मन्दीकै कारण करारमा कार्यरत सरकारी कर्मचारीहरूले नै राेजगारी गुमाएका छन् । बैंक तथा बीमा कम्पनीबीच मर्जरले पनि हजाराैंकाे राेजगारी गुमेकाे जानकारहरू बताउँछन् । निजी क्षेत्रले पनि मन्दी कारण देखाउँदै कर्मचारी कटाैति गरिरहेकाे समाचारहरू प्रकाशित भैरहेका छन् ।
आर्थिक मन्दीका कारण सहरका धेरै सटर बन्द भएका छन् । महानगरले फूटपाथको व्यापार हटाउँदा पनि ठूला संख्यामा साना व्यवसायी काठमाडौंबाट विस्थापित भएका छन् । सडक आसपासका सटर वा फल्याट वा कोटामा जहाँ तही टु लेट लेखेको देख्न सकिन्छ । यसले पनि राजधानीमा बस्ने मानिसको संख्या कम हुँदै गएको र सवारी चाप पनि कम भएको हुन सक्ने अनुमान धेरैले गरेका छन् ।

आर्थिक मन्दीको कारण बजारमा मानिसहरूको गतिविधि पनि कम भएको छ । कारोबार कम भएपछि मानिसहरूको मुभमेन्ट पनि कम हुन्छ । त्यसले पनि ट्राफिक जाम घटेको हुन सक्ने धेरैको बुझाइ छ ।

यसै गरी काठमाडौंमा जाम हुनको अर्को मुख्य कारण हो राष्ट्रपतिको सवारी । यो कारणले काठमाडौं घण्टौँ जाम हुन्थ्यो । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएसँगै उनेले कुनै पनि ठाउँमा निस्किदा काठमाडौं सडक खाली नगराउने घोषणा गरेका थिए । उनले सो घोषण गरेसँगै राजनीतिक दलका नेता तथा उच्च पधादिकारीहरु निस्कँदा कुनै पनि सडक खालि नगर्ने भएकाले पनि सर्वसाधारणले पनि जामको अनुभूति कम भएको महसुस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.