दक्षिण कोरिया जाने कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी

  २०८० जेठ ३ गते १०:५८     विकासन्युज

काठमाडौं । दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ ।

ललिपुरमा रहेको इपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो । सिमकार्ड निःशुल्क रुपमा वितरण भइरहेको भएपनि कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड रहेको पाइएको छ ।

सिमकार्ड वितरण निशुल्क वितरण गर्ने भनिएपनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए । उनले अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि कार्य रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सम्बन्धित निकायलाई जानकारी दिएकोमा पनि जोड दिए ।

उनले अवैध रुपमा कोरियाको प्रिपेड सिमकार्ड बिक्री वितरण भइरहेको गुनासो आएसँगै गत पुस ४ गते प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन गरी कारवाही गर्न अनुरोध गर्दै पत्र काटेको जानकारी दिए । कटुवालले सिमकार्ड वितरण कार्य नरोकिए पछि पुनः वैशाख ३१ गते दोस्रो पटक प्रहरीलाई जानकारी दिएको बताए ।

ईपीएस कोरिया शाखाका निर्देशक कटुवालले कार्यलय परिसर वरपर बीमा, फोटोकपी, प्रिन्टिङ्ग लगायतका कार्यहरु बजार मूल्य भन्दा चर्को शुल्क लिई ठगी गर्ने गरेको पनि जोड दिए । उनले त्यस्तै ठगी कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको बताए ।

उनले ईपीएस कोरिया शाखाले अवैध सिमकार्ड वितरण र सेवाग्राहीहरुको फारम भर्ने लगायत सेवा सम्बन्धी अन्य कार्यहरु गर्दा उपोभोक्तलाई ठगी गर्ने गरेको बारे सम्बन्धी निकायलाई ताकेता गरेको करिव ५ महिना पुग्न लाग्दा समेत सम्बन्धी निकाय भने मौन देखिएको गुनासो गरे । उनले हालसम्म प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन समेत गर्न नआएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.