अर्थमन्त्रीमा स्वर्णिमको चर्चा, गृहमा रविको अडान

  २०८० वैशाख १८ गते १६:४७     विकासन्युज

काठमाडौं । उपनिर्वाचन सम्पन्न भएसँगै पुनः सत्तासमीकरणको विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ–१ बाट स्वर्णिम वाग्ले निर्वाचित भएसँगै सरकारको नयाँ समीकरणको विषयमा चर्चा हुन थालेको हो ।

अहिले नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरु सरकारमा छन् । रास्वपाले पनि प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपनि सरकारमा मन्त्रीहरु पठाएको छैन ।

अहिले पुनः रास्वपा सरकारमा जाने या नजाने भन्ने विषयमा बहस भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुन राखेका माग सम्बोधन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल तयार रहेको बुझिएको छ ।

शुक्रबार बसेको रास्वपाको बैठकपछि रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न प्रधानमन्त्री दाहाल तयार रहेको बताएका थिए । प्रधानमन्त्री दाहाल रास्वपालाई पनि सरकारमै ल्याउन चाहन्छन् ।

अहिले रास्वपाले गृह मन्त्रालय र अर्थ मन्त्रालयसहित चार मन्त्रालय माग गरेको बुझिएको छ । रास्वपाले साबिकका मन्त्रालय पाउनुपर्ने र नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग पनि अघि सारेको छ ।

चितवन–२ मा भएको उपनिर्वाचनबाट सांसद बनेपछि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका थिए । रास्वपाले गृह, अर्थ, श्रम र शिक्षा मन्त्रालय मागेको छ भने नीति तथा कार्यक्रम पनि पुनर्लेखन हुनुपर्ने माग राखेको छ ।

तर, सरकारमा सहभागी हुने या प्रतिपक्षमा जाने भन्ने विषयमा रास्वपाले आगामी शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय लिने बताइएको छ ।

रास्वपाका सासंद मनिष झाले एक टेलिभिजनसँगको कुराकानीमा गृह, अर्थसहित चार मन्त्रालय पाएमा आफुहरु सरकारमा जाने धारणा राखेका छन् । प्रधानमन्त्री दाहालले रास्वपाको माग सम्बोधन गरेमा गृहमा रवि लामिछाने, अर्थमा डा. स्वर्णिम वाग्ले बन्ने निश्चित प्रायः छ ।

रास्वपाका प्रवक्ता डा.ढकालले वाग्लेलाई अर्थमन्त्री बनाउने विषयमा पार्टी सकारात्मक भएको धारणा राखेका छन् । अर्थतन्त्रमा समस्या देखिएका बेला आफ्नो दलमा अर्थतन्त्रसम्बन्धी जानकार डा. वाग्ले अर्थमन्त्री बनेमा धेरै समस्या समाधान हुने उनको धारणा छ ।

अहिले नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत अर्थमन्त्री छन् भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.