अब विद्यार्थीले शुक्रबार किताब पढ्न नपर्ने

  २०८० वैशाख १२ गते १५:५३     विकासन्युज

काठमाडौं । अब काठमाडौं महानगरमा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीले शुक्रबार किताब पढ्न नपर्ने भएको छ । महानगरले शुक्रबार माध्यमिक तहको कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई ‘शिक्षासँगै सिप’ तालिम प्रदान गर्ने भएपछि विद्यार्थीहरु सो दिन किताब बोकेर विद्यालय जान नपर्ने भएको हो ।

महानगरपालिकाले मंगलबार एक समारोहको आयोजना गर्दै विद्यालय तहमा ‘शिक्षामा सिप’ कार्यक्रमको घोषणा गरेको छ । विद्यमान शिक्षा प्रणालीमा सुधार गर्ने र सिपमुलक शिक्षाको पाटो थप्ने उद्देश्यले महानगरले माध्यमिक तहमा छोटो अविधिको सिपमुलक तालिम कार्यक्रम समावेश गरेको हो ।

महानगरका प्रमुख बालेन्द्र साहले डिजिटल माध्यमबाट मंगलबार कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको शुरुवात गरेका छन् । पाठ्यपुस्तक र नियमित कक्षासँगै जीवनउपयोगी, सिपमुलक र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्य कार्यक्रममा राखिएको छ । साथै विद्यार्थीले विद्यालय तहको अध्ययन पुरा गर्दा कम्तिमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्ने उद्देश्य पनि कार्यक्रमले लिएको छ ।

साहका अनुसार इतिहासमा गुरुकुलमा सिकाइने सिपमुलक शिक्षा विदेशी शिक्षाको आगमनसँगै छायाँमा परेकाले अहिले महानगरले त्यसलाई शुरुवात गरेको हो । विद्यार्थीले सिपमुलक शिक्षाको माध्यमबाट श्रमलाई बुझ्ने र श्रमको सम्मान गर्ने संस्कृति सिक्ने महानगरका प्रमुख शाहले बताए ।

महानगरले ‘शिक्षासँगै सिप’ कार्यक्रमलाई पाइलट प्रोजेक्टका रुपमा ५६ वटा माध्यमिक विद्यालयहरुमार्फत शुरुवात गर्ने भएको छ । चालु आर्थिक वर्षमा अर्थात असार मसान्तसम्म ९० घण्टाको कार्यक्रम सञ्चालन हुने महानगरका शिक्षा अधिकारी सिताराम अधिकारीले बताएका छन् । उनका अनुसार सो कार्यक्रम प्रत्येक शुक्रबार लागु हुने र सो दिन विद्यार्थीहरु पुस्तक झोला बिना नै विद्यालयमा उपस्थिति भएर ‘शिक्षासँगै सिप’ कार्यक्रममा सहभागी हुन्छन् ।

तालिममा कृषि तथा सहरी खेती, सौन्दर्यकला र कपाल शैली, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन तथा कपडा निर्माण, तार तथा बिजुली जडान, विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने कला, मोबाइल तथा विद्युतीय सामग्री, पाइप जडान तथा मर्मत र कला तथा मूर्तिकला विद्याहरुलाई समावेश गरिएको महानगरका प्रवक्ता नविन मानन्धरले बताएका छन् । विद्यालय शिक्षाकै क्रममा प्रदान गरिने तालिमले विद्यार्थीलाई दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्या समाधान गर्न सहयोग पुर्याउने र आफ्नो रुचीको तालिम पश्चात विद्यार्थीले उपयोगी सिपको प्रमाणपत्र समेत प्राप्त गर्ने प्रवक्ता मानन्धरले बताए ।

खासगरी ‘शिक्षासँगै सिप’ कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी हुन्छन् । विद्यार्थीहरुलाई २० देखि ३० जनासम्मको समूह बनाएर तालिम सञ्चालन गरिन्छ । विद्यालयहरुलाई तालिम सञ्चालन गर्नको लागि महानगरले आफ्नै आन्तरिक स्रोतबाट आवश्यक रकम अनुदान स्वरुप उपलब्ध गराउने महानगरका प्रवक्ता मानन्धनरले बताए । सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण गरेको प्रशिक्षक व्यक्तिले विद्यार्थीलाई तालिम प्रदान गर्ने व्यवस्था मिलाइने महानगरले जनाएको छ ।

काठमाडौं महानगरले शुरुवात गरेको ‘शिक्षासँगै सिप’ तथा ‘किताब रहित शुक्रबार’ कार्यक्रमको शुरुवातबाट शिक्षक र विद्यार्थीहरु उत्साहित भएको विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए । उनले विद्यार्थीले ५ दिनसम्म निरन्तर पुस्तक पढ्दा उनीहरुको दिमाख थकित भएको हुने हुँदा शुक्रबार सञ्चालन गरिने ‘किताब रहित शुक्रबार’ कार्यक्रम निकै प्रभावकारी हुने बताए ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले परीक्षामा विद्यार्थीले ल्याएको श्रेणीले क्षणिक भएको बताउँदै जीवन उपयोगी सिप सिक्नको लागि महानगरले विद्यालयस्तरमा छोटो अवधिको तालिम सञ्चालन गर्न लागिएको बताइन् । तालिमले शैक्षिक रुपमा मात्रै नभइ आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पनि रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

दक्षजनशक्ति उत्पादन गर्न कामपाले ११औँ नगर सभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ । अहिले महानगरमा ८९ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.