प्रतिबन्ध भएपनि काठमाडौंमै हुन्छ खुलेआम ठूला भारु नोटको कारोबार, राष्ट्र बैंक र प्रहरी अनविज्ञ

  २०७९ चैत १५ गते १२:२५     सन्तोष रोकाया

काठमाडौं । अघिल्लो साता काठमाडौंको टेकु पुल नजिकै रहेको एउटा पेट्रोल पम्पमा चालकले आफ्नो मोटरसाइकलमा पेट्रोल हाल्दै थिए । उनले मोटरसाइल ‘फूल ट्यांकी’ गराए । पेट्रोलको पैसा दिँदा दुइटा पाँच सय भारतीय रुपैयाँ (भारु) दिए । सँगै लाइनमा लागेकाहरुले मुखामुख गरे । पेट्रोल पम्पका कर्मचारीले भने निर्धक्कका साथ पैसा समाते । र, बाँकी खुद्रा नेपालीमा फिर्ता गरे ।

पंतिकारले पेट्रोल पम्पका कर्मचारीलाई सोधे, ‘पाँच सय भारुको नोट पनि चल्छ ?’

जवाफमा उनले प्रतिप्रश्न गरे, ‘कहिले बन्द थियो र ?

पंतिकारले पुनः प्रश्न गरे, ‘प्रहरीले देख्यो भने समात्छ नी ?’

उनले जवाफ दिए, ‘वर्षौंदेखि कारोबार गरेकै छौं, अहिलेसम्म समातेको छैन ।’

यस्तै, गत साता न्यूरोडको एउटा मोबाइल पसलमा पनि पसले र ग्राहकबीच दुई हजार भारुको कारोबार भएको देखियो । इयरबड खरिद गरेका उनले दुई हजारको नोट पसलेलाई दिए । भारतीय दुई हजारको नेपाली ३ हजार दुई सय रुपैयाँ हुन्छ । पसलेले ३ हजार इयरबडको कटाएर २ सय रुपैयाँ फिर्ता गरे । ती पसलेले पनि कुनै हिचकिचाहट भारु नोट समाते ।

पंतिकारले ती पसलेलाई पनि सोधे, ‘नेपालमा ठूला भारु नोट चल्दैनन् नी !

पसलेले भने, ‘भारुको नोट कारोबार गर्नु हुन्न भन्ने त थाहा छ, तर सामान भारतबाटै आउँछ, त्यता जाँदा लिएरै जानु पर्छ, हामीले त चलाउँछौं ।’

प्रहरीले केही भन्दैन ? पंतिकारले पुनः प्रश्न गरे ?

उनले जवाफमा भने, ‘देखे पो ।’

यी दुई वटा प्रतिनिधि घटनाहरु मात्रै हुन् । भारतसँग सीमाना जोडिएका सीमावर्ती बजारमा मात्रै होइन देशको संघीय राजधानी काठमाडौंमा पनि खुलेआम रुपमा ठूला भारु नोटको कारोबार हुन्छ । प्रहरीलाई यो विषय राम्रोसँग थाहा छ, कुन ठाउँमा के कसरी भारु नोटको कारोबार हुन्छ ? प्रहरीलाई राम्रोसँग जानकारी छ । तर, प्रहरी प्रशासन यस विषयमा अनविज्ञ छ ।

न्यूनरोडका एक व्यवसायीका अनुसार काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुमा नेपालीभन्दा भारतीय रुपैयाँको बढी कारोबार हुन्छ । ‘हुन त २ सयभन्दा बढीको भारु नोट नेपालमा प्रतिबन्ध छ भनेर सबैलाई थाहा छ, तर कारोबार नगरेर व्यापार हुँदैन, मारवाडीहरुले भारुको कारोबार बढी गर्छन्, अहिले डिजिटलमाध्यम मार्फत् र भारु नोटको बढी कारोबार हुन्छ,’ ती व्यवसायीले भने ।

यस विषयमा आफुहरुलाई भने जानकारी नभएको नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेल बताउँछन् । उनका अनुसार अहिलेसम्म भारु नोटको कारोबार गरेको आधारमा कसैलाई पनि पक्राउ गरिएको छैन ।

‘हामीले जानकारी आएको खण्डमा पक्राउ गर्छौं, अहिलेसम्म कुन ठाउँमा कसरी भारु नोटको कारोबार हुन्छ भनेर हामीलाई जानकारी छैन,’ उनले विकासन्युजसँग भने ।

नेपाल राष्ट्र बैंकले १ सय भारुको नोट मात्रै नेपालमा कारोबार गर्न पाउने व्यवस्था गरेको छ । २००, ५०० र २००० हजारको भारु नोट नेपालमा चलनचल्तिमा छैन । अर्थात् नेपाली बजारमा ठूला दरका भारुको कारोबार गर्न पाइँदैन ।

नेपाल र भारत खुला सीमाना भएको कारण पनि मानिसहरुले सहजै आवतजावत गर्न पाउँछन् । नेपाली सवारी साधन नजिकै पर्ने भारतीय बजारमा जान पाउँछन् भने भारतीय सवारी साधन पनि नेपाली सीमावर्ती बजारमा आवतजावत गर्न पाउँछन् । त्यस कारणले पनि सीमावर्ती क्षेत्रमा सहजै साना–ठूला भारु नोटको कारोबार हुन्छ । तर, काठमाडौंमै कारोबार हुन थालेपछि प्रहरी प्रशासन र नेपाल राष्ट्र बैंकको कार्यशैलीमाथि प्रश्न उठेको छ ।

खुल्ला सीमाना तथा व्यापारिक सम्बन्धकै कारण भारु नेपाली बजारमा पनि खुलेआम रुपमा कारोबार हुने गरेको व्यवसायीहरु बताउँछन् । यस विषयमा राष्ट्र बैंक भने मौन छ ।

नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेल पनि काठमाडौंमा ठूला भारु नोटको कारोबार हुने विषयमा आफुहरुलाई जानकारी नभएको बताउँछन् । उनले नेपाल राष्ट्र बैंकको काम बजारमा हेर्ने नभएको बताउँदै कसैले व्यवहारिक रुपमा घरबार चलाउनका लागि कारोबार गर्छ भने त्यसलाई अन्यथा लिन नहुने उनको धारणा छ ।

‘हामी नै बजारमा गएर हेर्ने कुरा हुँदैन, बजारमा गएर हेर्दा त देखिन्छन् होला, उदाहरणको म कुनै ठाउँ जुस खान गएँ, त्यहाँ एकजना तराई मूलको मान्छेको हातमा ५ सयको देखियो, त्यसलाई मैले जफत गर्न मिल्दैन,’ उनले भने ।

उनका अनुसार राष्ट्र बैंक नियमनकारी निकाय भएकाले अप्ठ्यारो पर्याे भने पछि दाबी गर्ने ठाउँ छैन भनेर अगाडि नै भनेको हुन्छ । उनले बजारमा भारु नोट देखिएपछि वा गैरकानुनी रुपमा चलनचल्तिमा ल्याएका छन् भने गलत गर्नेलाइ प्रहरी प्रशासनले पक्राउ गर्न सक्ने बताए ।

अहिले एक सय भारु बराबर एक सय ५५ या १५० रुपैयाँमा खुलेआम कारोबार भइरहको पनि सुनिन्छ । बजारमा अनौपचारिक रुपमा कारोबार हुँदा एक सय रुपैयाँ भारुको १५० या १५५ रुपैयाँमा कारोबार भइरहेको विषय राष्ट्र बैंकले पनि स्वीकारेको छ । सीमावर्ती बजारमा भारतीय रुपैयाँका अवमुल्यन भएको राष्ट्र बैंकको भनाइ छ ।

यसअघि सरकारले आयातमा कडाइ गर्दा अवैध च्यानलमार्फत् वस्तु आयात गर्नकै लागि भारतीय रुपैयाँ महँगोमा खरिद बिक्री भइरहेको थियो । तर, अहिले आयात फुकुवा तथा भारतीय मुद्राको पनि माग कम भएपछि भारुको अवमुल्यन भएको हो । संघीय राजधानी काठमाडौंमै प्रतिबन्ध ठूला भारु नोटका कारोबार हुनु भने प्रहरी प्रशासन र राष्ट्र बैंकको कार्यशैलीमाथि प्रश्न उठ्नु स्वभाविक हो ।

सम्बन्धित सामग्री : सीमा क्षेत्रका व्यापारीले भारु साट्नै छाडे, भारतमा बस्ने नेपाली चिन्तामा

भारुको मूल्य र माग घटेको राष्ट्र बैंकको निष्कर्ष, नेपाललाई फाइदा कि बेफाइदा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.