आकाशमै तारा एयरको ढोका खुलेपछि…

  २०७९ फागुन १९ गते १२:१९     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । उडानका क्रममा तारा एयरको जहाजको ढोका खुलेको पाइएको छ । बिहीबार दिउँसो १२.५१ बजे नेपालगञ्ज विमानस्थलबाट बाजुराको कोल्टी विमानस्थलमा उडान भरेको जहाजको ढोका उडानको क्रममा खुलेको हो ।

बिहीबार उडानको क्रममा जहाजको ढोका खुलेको जानकारी आएपछि तत्काल प्राविधिक पठाएर अध्ययन सुरु गरिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । जहाज ल्याण्ड गर्ने क्रममा जहाजको ढोका खुलेपनि सबै यात्रुहरु सकुशल रहेका छन् ।

‘हामीलाई हिजो दिउँसो नै जानकारी आएको थियो, जानकारी आउनासाथ प्राधिकरणका प्राविधिक घटनास्थल पुगेर अध्ययन सुरु गरिसक्नुभएको छ’, क्यानका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘जहाज ग्राउण्डेड गरेर अध्ययन सुरु भएको छ, प्रतिवेदन सार्वजनिक नहुँदासम्म जहाजसँगै चालक दलका सदस्यहरु ग्राउण्डेड छन् ।’

तारा एयरले भने उडानको क्रममा जहाजको ढोका खुलेको नभएर पार्किङमा जाने क्रममा ढोका खुलेको बताएकाे छ । यती एयरका प्रवक्ता सुदर्शन बर्ताेलाले उडानको क्रममा नभएर ल्याण्ड गरेर पार्किङ वे तर्फ जाने क्रममा ढोका खुलेको बताए ।

‘अहिले जति पनि कुराहरु आएका छन्, सबै बढाई चढाई आएका हुुन्न, समयमा टिकट नपाएको, टिकट महंगो भयो भन्नेहरुले तारा र यती एयरलाई बन्दनाम बनाउन खोजे’, उनले भने ।

ताराले सञ्चालन गरेको जहाजका ढोकामा हाईड्रोलिक सिष्टम जडान गरिएको भन्दै अन्य टिवनअटरभन्दा फरक रहेको तारा एयरले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.